२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेपाली युवा उद्यमी मञ्चद्वारा व्यवसायिक अन्तरक्रिया

सोमवार , जेठ ३०, २०७९

बुटवल, ३० जेठ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजनामा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल सरकारबाट हालै मात्र सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/८० को बजेटको विषयमा मञ्चले व्यवसायिक अन्तरक्रिया बहस गरेको हो । 

बुटवलमा आयोजना गरेको कार्यक्रममा समन्वयकर्ता सि.ए सम्याक बज्राचार्यले नेपाल सरकारले प्रस्तुत गरेको बजेट बिषयमा उद्योगीहरुलाई पार्ने असर र चुनौतीको विषयमा  कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पछिल्लो समयमा बढ्दै गएको आर्थिक मन्दी निराकरण गर्नको लागि सरकारी निकायबाट नै ठोस पहल हुनुपर्ने भन्दै यसको लागि साझा पहल आवश्यक रहेको बताए । 

उद्योगी व्यवसायीहरुले देशका लागि अधिकतम योगदान पुर्याउँदै आएको भए पनि उनीहरुको जायज माग पूरा गर्नको लागि सरकारी निकायबाट ठोस पहल नभएको दुःखेसो समेत गरे । 

युवा उद्यमीहरुको विकास नै अहिलेको आवश्यकता रहेको भन्दै उनले युवा उद्यमशिलता विकासको लागि सबै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरका अध्यक्ष निरज लाकौलले बजेटको कारण उद्यमी क्षेत्रमा पर्ने असर वा सम्भावनाका विषयमा अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले युवा उद्यमशिलताबाट नै देश समृद्धिको बाटोमा जाने भन्दै यसको लागि सरकारी निकायबाट विशेष ख्याल गर्नुपर्ने बताए । 

कार्यक्रममा ४५ जना युवा उद्यमी व्यवसायीहरुको सहभागीता रहेको कार्यक्रम संयोजक सुमित वझाले जानकारी दिए ।