आइतवार , जेठ २९, २०७९
भैरहवा, २९ जेठ ।
अर्घाखाँची जुकेना–रुपन्देही सम्पर्क समाजको संस्थापक अध्यक्षमा नुमेन्द्र पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । समाजको शनिबार बुटवलमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय संस्थापक कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
अनौपचारिक रुपमा यसअघि देखि नै संस्था गठन गरी विभिन्न सामाजिक कार्य गर्दै आएको यस संस्थाले गत पुस महिनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा औपचारिक रुपमा दर्ता भइ तदर्थ समिति गठन गरी कार्य गरेकोमा शनिबारको अधिवेशन पश्चात संस्थाको संस्थापक कार्यसमिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा विष्णु पौडेल र माधब न्यौपाने रहेका छन् भने सचिवमा गोपाल पौडेल, सह–सचिवमा ज्योती पौडेल, कोषाध्यक्षमा भीम पौडेल र सह–कोषाध्यक्षमा मोहन बेल्बासे चयन भएको निर्वाचन समिति संयोजक झविन्द्र पौडेलले बताए ।
त्यसै गरी संस्थाको सदस्यहरुमा लोकेन्द्र पौडेल, विमला बेल्बासे, तारा ढकाल बेल्बासे, विष्णु पौडेल, कृष्ण बेल्बासे र रेसम पौडेल चयन भएको निर्वाचन अधिकृत पौडेलले बताए । साथै अधिवेशनबाट संस्थाको शिक्षा समिति संयोजकमा झविन्द्र पौडेल र लेखा समिति संयोजकमा युवराज न्यौपानेलाई समेत चयन गरिएको थियो ।
संस्थाको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि शितगंगा नगरपालिका, अर्घाखाँचीका प्रमुख छविलाल पौडेलले आफू पनि जुकेनाबासी भएको नाताले संस्थाका आगामी सामाजिक कार्यमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले संस्थाको आजीवन सदस्यता लिएर अन्य सदस्यहरुलाई समेत हौसला प्रदान गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाट, अतिथिहरु शितगंगा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चन्द्र बेल्बासे, वडा नम्बर ६ का वडा अध्यक्ष ऋषि रेस्मी, नेपाल सरकारका उपसचिव चिरन्जीवी पौडेल, संस्थाका पूर्व अध्यक्ष विष्णु पौडेल, कमल पौडेल, सिद्धारा रुपन्देही सेवा समाजका कोषाध्यक्ष गीता पौडेल लगायतले बोल्दै सम्पर्क समाजले समाजमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनीहरुले समेत संस्थाको आजीवन सदस्यता लिएको संस्थाका सचिव गोपाल पौडेलले बताए ।
कार्यक्रममा साविकको जुकेना गाविस (हाल शितगंगा नगरपालिका वडा नम्बर ५ र ६) बाट नवनिर्वाचित जनप्रतिनिधिहरु नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, वडा नम्बर ५ र ६ का अध्यक्षहरु क्रमश ः चन्द्र बेल्बासे र ऋषि रेस्मीलाई खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष नुमेन्द्र पौडेलद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष भीम पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको थियो ।
शनिबार नै निर्वाचन पश्चात नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक समेत बसेको थियो । बैठकले कार्यक्रम सफल पार्नको लागि खटने सम्पुर्ण संस्थाका सदस्य तथा आमन्त्रित अथितिहरुलाई धन्यवाद ज्ञापन गरेको थियो । साथै जुकेना स्थायी बसोवास गर्ने हाल क्यान्सरले ग्रसित निश्चल पौडेल र मृगौलापीडित दीपक बेल्बासेलाई संस्थाले जनही ५ हजार १ सयको दरले आर्थिक सहयोग गर्ने निर्णय गरिएको सहसचिव ज्योती पौडेलले बताए । उनीहरुलाई जनही २ हजार ५ सय ५१ का दरले संस्थाका अध्यक्ष नुमेन्द्र पौडेलले पनि व्यक्तिगत रुपमा सहयोग गरेका थिए । संस्थामा १०२ जना सदस्य छन् । जसमा २० जना आजीवन सदस्य रहेका छन् । साविकको जुकेनाबाट रुपन्देहीको जुनसुकै स्थानमा बसोबास गर्ने व्यक्तिहरुले संस्थाको सदस्यता लिन सक्ने प्रावधान छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij