शनिवार , जेठ २८, २०७९
भैरहवा, २७ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित श्री गणेश कालिका मन्दिरको स्वामीत्वमा रहेको सटरको कोठा भाडा उठ्न सकेको छैन । मन्दिरमा रहेको सटरको कोठा भाडा व्यवसायीले नतिर्दा समस्या भएको मन्दिर व्यवस्थापन समितिको गुनासो छ ।
एक मात्र सटर रहेको मन्दिरमा पटकपटक मौखिक जानकारी तथा लिखित पत्राचार गर्दा समेत व्यवसायीबाट अटेर गरिएको तथा वडा कार्यालयमा भएको सहमतिको समेत कार्यान्यवन नभएको मन्दिर व्यवस्थापन समितिका सचिव तथा निवर्तमान वडा सदस्य सरोज ठकुरीले बताए । उनका अनुसार बक्यौता भाडा रकम हालसम्म १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । उनले भने, ‘सौरभ पूजा सामग्री पसल सञ्चालन गर्नुभएका पुनम थापाले २०७२ सालदेखि विद्युत महशुल र २०७६ सालदेखि सटर भाडा बुझाउनुभएको छैन, निरन्तर रुपमा सटर कोठा खाली गर्नको लागि पटकपटक पत्राचार गरे पनि अटेर गर्नुभएको छ ।’ व्यवसायीले भाडा बुझाउँछु भन्ने गरेको तर व्यवहारमा भने नतिरेको ठकुरीले बताए । व्यापार गरिरहने तथा कोठाको भाडा नतिर्ने प्रवृत्ति गलत भएको उनले बताए ।
सटर खाली गराउनको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई आवश्यक सहयोगका लागि लिखित अनुरोध समेत गरिएको सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुङले बताए । श्री गणेश कालिका मन्दिर पुरानो तथा धार्मिक महत्व बोकेको मन्दिर भएको स्थानीय बताउँछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij