२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

किशोरी अधिकार स्थापित गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

शुक्रवार , जेठ २७, २०७९

भैरहवा, २७ जेठ ।
रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिले किशोरी तथा महिला, बालबालिका, अल्पसंख्यक, मानवअधिकार, बालविवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने हरेक विषयलाई आफूहरुले प्राथमिकतामा राखेर काम पर्ने जनाएका हुन् ।

शुक्रबार किशोरी अधिकारी मंच, रुपन्देहीको आयोजना केयर र ओरेकको सहयोग एवं महिला तथा बालअधिकार जिल्ला संजाल, रुपन्देही र महिला मानव अधिकार जिल्ला संजाल, रुपन्देहीको सहकार्यमा भैरहवामा आयोजित किशोरी तथा महिलाहरुका सवाल सम्बोधनका लागि जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिले नीति, नियम निर्माण तहबाट आफूहरुले गर्नुुपर्ने समष्टिगत क्षेत्रका कार्य र योजनालाई विशेष पहलकदमी गरेर काम गर्ने बताएका हुन् ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बूयालले समाजमा अझै महिला हिंसाका घटनाले जरो गाडेर रहेको जनाउँदै यसलाई निरुपण गर्न पालिका प्रतिवद्ध रहेको जनाए । उनले खासगरी भोलिका कर्णधार मानिने किशोर–किशोरी र युवायुवतीका अधिकार, उनीहरुको वृद्धि विकास र क्षमता अभिबृद्धिका लागि पालिका सधैभर तत्पर रहेर काम गर्ने जनाए । उनले पूर्वाधार विकाससँगै मानवीय विकास, सचेतना र अभिबृद्धिका कार्यक्रमलाई सबैसँग सल्लाह गरेर पालिकाले काम गर्ने प्रतिबद्धता गरे ।

कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले महिला अधिकार, हिंसा तथा अल्पसंख्यकको क्षेत्रमा पहिला घरपरिवार र त्यसपछि समाजबाटै अभियान थाल्नु पर्ने बताए । उनले भने, ‘हाम्रो समाजमा हिंसा र उत्पीडनका घटनाहरु झांगिएका छन्, यी कुराहरुलाई जरैबाट निर्मूल पार्न पालिकाले हरेक क्षेत्रका नागरिकसँग हातेमालो गरेर काम गर्छ ।’ तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरीदेवी चौधरीले समाजमा महिला र किशोरीलाई हेर्ने दृष्टिकोण परिवर्तन जरुरी रहेको बताइन् । उनले यसअघि तिलोत्तमाले बालमैत्री नगर, महिलाअधिकार, हिंसा र पुनर्उत्थानका क्षेत्रमा उल्लेख्य काम गरेको जनाउँदै आगामी दिनमा सामाजिक संघसंस्थासँग सहकार्य गरेर थप कार्यक्रमहरु गर्ने जनाइन् । उनले कानून निर्माण र त्यसको कार्यान्वयनमा आफूहरु लाग्ने जनाउँदै हरेक समस्या समाधानमा पालिका प्रतिबद्ध रहेको बताइन् ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, सियारी उपाध्यक्ष तारा थारु, शुद्धोधन उपाध्यक्ष शान्तादेवी ज्ञवाली, रोहिणी उपाध्यक्ष शिवकान्ति चमार र सम्मरीमाई गाउँपालिका उपाध्यक्ष प्रियंका सिंह शाहीले कतिपय बालबालिका र किशोरीहरु अझै पनि शिक्षाको पहुँचमा नरहेको, घरेलु, सामाजिक हिंसा, बलात्कार, छुवाछुत जस्ता समस्या धेरै ठाउँमा रहेको जनाउँदै यी कानूनले बर्जित विषयलाई समाधान गर्न पहल गर्ने जनाए । नेतृत्वमा रहेकाले अधिकार क्षेत्रमा पर्ने सवालहरुलाई कानूनी, नितिगत, बजेट व्यवस्थापन, सचेतना लगायतका कार्यक्रम गरेर निरुत्साहित तथा निर्मूल पार्न आफूहरु लागिपर्ने उनीहरुले प्रतिवद्धता जाहेर गरेका छन् ।

अन्तरक्रियामा एबीसी नेपालका क्षेत्रीय प्रबन्धक मनोज लामिछानेले धेरै दिदीबहिनीले श्रमको मूल्य नपाएको, किशोरीहरुले नागरिकता नपाउँदा धेरै अधिकारबाट बञ्चित भएको, तराईमा भाषाको समस्या भएको बताए । यी समस्या समाधान गर्न जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने बताउँदै लामिछानेले किशोरी अधिकारका क्षेत्रमा लगानी बढाउनुपर्ने, बनेका नीति, नियम र कानूनको कडाईसाथ लागू गर्नुुपर्ने र किशोरीलाई नेतृत्व तहमा ल्याउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा किशोरी अधिकार मंचकी कोषाध्यक्ष शालिनी मिश्रले संस्थाको स्थापना, अधिकारका क्षेत्रमा गरेका काम, स्थानीय पालिकाबाट राखिएको अपेक्षाकाबारे प्रस्तुतीकरण गरेकी थिइन् । यस्तै, महिला तथा बालअधिकार जिल्ला संजाल, रुपन्देहीका सचिव अधिवक्ता सुनिल त्रिपाठीले संजालले गरेका काम, उपलब्धी र संस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए भने ओरेककी मानव अधिकार तथा सामाजिक न्याय अभियान संयोजक सुनिता मैनालीले ओरेकले महिला, किशोरी र समाजिक क्षेत्रमा गरेका कामबारे प्रस्तुतीकरणमार्फत जानकारी दिएकी थिइन् । प्रस्तुतीकरण गर्दै उनीहरुले स्थानीय तहले महिला हिंसा, किशोरीहरुको वृद्धि विकास, अधिकार, सचेतना, कानून तथा नीति नियमका क्षेत्रमा काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

किशोरी मंचकी कोषाध्यक्ष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको रहेको थियो । कार्यक्रम महिला तथा बालअधिकार जिल्ला संजाल, रुपन्देही अध्यक्ष समिता मल्लको स्वागत र पत्रकार कल्पना तिवारीको सञ्चालनमा भएको थियो ।