शुक्रवार , जेठ २७, २०७९
बुटवल, २७ जेठ ।
लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) लुम्बिनी प्रदेशको सचिवालय समुद्घाटन गरिएको छ । नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपाल काठमाण्डौ अध्यक्ष ध्रुव बहादुर थापाले एक समारोहकाबीच समुद्घाटन गर्दै व्यवसायीहरु संस्थागत एकताबद्ध भएर लाग्न सुझाव दिए । अटोमोबाईल व्यवसाय सुस्ताएको अवस्था रहेको उनले बताए । थुप्रै नेपाली युवाहरुलाई स्वदेशमा रोजगार सिर्जना गरेको व्यवसायप्रति सरकार उदासिन भएको उनले गुनासो गरे । बिलासिता मात्र नभई आधारभुत आवश्यकताको रुपमा अटोमोबाईललाई सरकारले राख्नु सकारात्मक भएको उनले दावी गरे । सरकारको बजेटमा पूर्वाधार विकासका रुपमा सडक प्राथमिकतामा राखिनुपर्ने उनले बताए । कार्यालय स्थापना गर्दा केन्द्रबाट समेत ५ लाख रुपैयाँका साथै आवश्यकता तालिम र विकासका सहयोग गर्ने बताए । सामाजिक क्षेत्रको योगदानमा काम गर्ने शाखाहरुलाई वार्षिक २ लाख रुपैयाँ सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल, कार्यसमिति सदस्य अनुप कुमार बराल, गोपाल भट्टराईले सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा नाडाका अध्यक्ष गणेश प्रसाद भट्टराईले केन्द्रको पहलमा प्रदेश स्थापना गरिएको बताए । अटो व्यवसायीहरुको मूल मुद्दालाई केन्द्रमा राखेर संस्थागत विकासको लागि केन्द्रसंग समन्वय गरी अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।
त्यसै गरी नाडा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, महासचिव रोशन पाण्डे, कार्यक्रमका संयोजकहरु तिलकराम पाण्डे, प्रवेश कुमार भट्टराईले खुला सीमा र बिना दर्ता सञ्चालित व्यवसाय मुख्य समस्याका रुपमा रहेको बताए ।
नाडामा प्रदेशका १२ जिल्लाका १ सय ५ जना व्यवसायी आवद्ध छन् । मालबाहक तथा सवारी आयातकर्ता, अटो स्पेयरपार्टका आयातकर्ता, अटोपार्टस् व्यवसायी गरी ३ किसिमका सदस्यहरु छन् । यसैबीच शुक्रबार केन्द्रीय र प्रदेश समितिका पदाधिकारी, सदस्यका बीचमा छलफल कार्यक्रम राखिएको छ भने व्यवसायीहरुलाई एकदिने भन्सार, भीसीटीएस र करसम्बन्धि तालिम समेत गरिदैछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij