२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

दाङमा क्षयरोगको औषधि अभाव

सोमवार , जेठ २३, २०७९

तुलसीपुर, २३ जेठ ।
दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिइन् । उनका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि औषधिको खासै समस्या देखिएको छैन, तर बच्चाहरूका लागि ‘एचजेडआर’ निकै समस्या रहेको छ”, उनले भनिन् । 

जिल्लाका हरेक अस्पतालमा यो औषधि अभाव भएपछि औषधि माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उहाँले बताउनुभयो । हाल प्रादेशिक अस्पतालमा १४ वर्ष मुनिका सात बच्चाले सो औषधि सेवन गरिरहेका छन् ।
साथै १४ वर्षदेखि माथिका  डेढ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेको प्रादेशिक अस्पतालले जनाएको छ । जिल्लामा १५ दिनदेखि औषधि अभावको समस्या रहेको छ । औषधि आपूर्तिका लागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. ओम अर्यालले जानकारी दिए । औषधि सेवन गरिरहेका बिरामीलाई औषधि छुटाउनै नहुने भएकाले तत्काल आपूर्ति गर्ने बताए । रासस