आइतवार , जेठ २२, २०७९
बुटवल, २२ जेठ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण प्रसाद सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७८ वितरण गरेको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक सापकोटाले पत्रकार तेजेन्द्र केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरेका हुन ।
महासंघले वातावरण दिवसका दिन प्रत्येक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार केसी नगद २५ हजार, प्रमाणपत्रबाट सम्मानित भएका हुन । पत्रकार केसी दैनिक पत्र दैनिक, रातोपाटीको लुम्बिनी प्रदेश प्रमुख हुन । उनी विगत १५ वर्षदेखि बुटवललाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल छन ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले अहिले वातावरणीय समस्याका लक्षणहरु देखिन थालेको बताए । मानव जातीले वातावरणबाट धेरै कुराहरु लिने गरेको बताउँदै जोगाउन पहल नगर्दा समस्या देखिएको उनको भनाइ छ । सञ्चारमन्त्री शर्माले पत्रकारका लागि सञ्चार विधेयक ल्याएको बताउँदै यो विधेयक पास भएमा पत्रकार र सञ्चारमाध्यमलाई फाइदा पुग्ने बताए । कानूनको अभावमा अन्य कामहरु गर्न नपाएको उनले बताए । बजेट निर्माणको चरणमा रहेको बताउँदै सञ्चारमाध्यमलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने मन्त्री शर्माले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईंले वातावरणलाई जोगाउन ध्यान दिन आवश्यक रहेको बताए । उनले वातावरणका विषय पत्रकारिताको ५० प्रतिशत बिट भएको बताए ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले अहिले वातावरणीय संकट आउन थालेको बताए । उनले युवा पुस्तामा वातावरणका क्षेत्रमा लेखन कम भएको बताउँदै पुरस्कारले यस क्षेत्रमा लेखाईमा अभिप्रेरित गर्ने बताए ।
पत्रकारिता पुरस्कारका संस्थापक एवं अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले वातावरण जोगाउने कर्तव्य सबैको रहेको बताउदै पत्रकारको माध्यमबाट छिटो प्रभाव पर्ने भएकोले पुरस्कार स्थापना गरेको बताए । उनले रुपन्देहीमा वातावरणीय स्रोत धेरै भएकोले यसको संरक्षण गर्नको लागि प्रयास धेरै गर्न सहज होस् भन्ने उद्देश्यले पुरस्कार वितरण सुरु गरेको बताए । अहिलेसम्म २५ जना पत्रकार पुरस्कृत भएको स्मरण गरे । उनले वातावरण शंकटमा रहेको उल्लेख गर्दै यसको बचाउमा समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरे ।
पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव सल्लाहकार यानेन्द्र जिसिले वातावरण जोगाउनको लागि सबैले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले वातावरणको क्षेत्रमा पत्रकारको रुचि बढाउनको लागि पुरस्कार प्रदान गरिएको बताए । उनले वातावरण क्षेत्रको संरक्षणको लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले २५ वर्षअघि स्थापना भएको पुरस्कारको स्मरण गराउँदै वातावणको क्षेत्रमा कलम चलाउन उत्प्रेरित गर्ने बताइन् ।
तिलोत्तमा सब डिभिजन वन कार्यालयका प्रमुख सुर्य प्रसाद मैनालीले वातावरण समाजको महत्वपूर्ण क्षेत्र रहेको बताउँदै यसको संरक्षणको क्षेत्रमा लेख्दै गरेको पत्रकारलाई पुरस्कृत गर्नु सराहनीय कार्य रहेको बताए ।
मुल्यांकन समिति संयोजक एवं पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार माधव ढुंगानाले पत्रकारिता पुरस्कारको बारेमा बताउँदै पुरस्कार प्राप्त गर्ने व्यक्ति घोषणा गरे । पत्रकार ढुंगानाको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा पत्रकार टोपराज शर्मा र डिभिजन वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत सुर्य प्रसाद मैनाली सदस्य रहेका थिए ।
महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij