
शनिवार , जेठ २१, २०७९
बुटवल, २१ जेठ ।
रोटरी क्लब अफ बुटवलको पाँचौ क्लव एसेम्बली एवं क्लबको १४१६ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । पाँचौं क्लब एसेम्बलीका क्रममा विभिन्न कमिटी चेअरहरुले आ–आफ्नो कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै प्रगति विवरण पेश गरेका छन् ।
एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का एजी राजेन्द्र कार्कीले वार्षिक कार्ययोजना अनुसार काम भइरहेको बताउँदै क्रियाशिलता अझै बढाउन र क्लबको पदीय भुमिका अनुसार काम गर्न आग्रह गरे । निकै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वस्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरी सेवा गर्न सके उपयोगी हुने बताए ।
क्लब एडमिनिस्ट्रेशन कमिटी चेयर रोम शर्माले लक्ष्यअनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । क्लव मेम्बरसिप कमिटी चेअर झविन्द्रप्रसाद कंडेलको तर्फबाट पनि शर्माले कार्यप्रगति विवरण पेश गरेका थिए ।
त्यसै गरी सर्भिस प्रोजेक्ट कमिटी चेअर लेखनाथ भुसाल, द रोटरी फाउन्डेसन कमिटी चेयर दया भण्डारी, पव्लिक रिलेशन कमिटी चेअरको तर्फबाट करुण पनि आ–आफ्नो कमिटीको कार्यप्रगति विवरण पेश गरेका थिए ।
क्लब एसेम्बलीमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजूले टिमवर्कमा काम गरेमात्रै सफलता हासिल हुने भन्दै आ–आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य सम्झेर सामाजिक काममा अझ बढी क्रियाशिल हुन आग्रह गरे ।
एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्कीले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशीलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरीयन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए । बैठकमा सहभागी बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लोकनाथ न्यौपानेलाई क्लबको तर्फबाट सम्मान गरिएको थियो ।
त्यस अवसरमा बोल्दै न्यौपानेले जनप्रतिनिधिको हिसावले क्लवले अगाडि सारेका हरेक योजनामा आफ्नो साथ र समर्थन रहने बताए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा प्रेसिडेन्ट नोमिनी करुण खनाल, पुर्व अध्यक्षहरु आमोद सिमाङ्गैडा, निर्मलप्रसाद लाकौल, रोटरीयनहरु खिमनारायण पराजुली, विरेन्द्र राना लगायतले एक्लो प्रयासले मात्रै सिंगो संस्था हाँक्न नसकिने हुँदा सिंगो संस्था हाँक्न सबै रोटरीयनहरु सक्रिय हुनुपर्ने बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij