२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

तिलोत्तमा नगर कार्यपालिकामा एमालेको बहुमत

बुधवार , जेठ १८, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १८ जेठ । 
    रुपन्देहीको तिलोत्तमा नगर कार्यपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बहुमत पुगेको छ । बुधबार ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै सदस्यमा जितेसँगै एमालेको बहुमत पुगेको हो ।

    एमालेका उम्मेदवारहरु महिलातर्फ देवकी थारु, राधा शाही, लक्ष्मी घिले, तारा सुनार र सावित्रा पन्थी आचार्य तथा दलित र अल्पसंख्यकबाट सुरेन्द्र विक, नरबहादुर छन्तेल र रवि सेञ्चुरी निर्वाचित भएका छन् । एमालेका उम्मेदवारहरुले ४४ मत र नेपाली कांग्रेसका उम्मेदवारहरुले ४२ मत पाएका छन् । एक मत भने बदर भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए । 

    नगरप्रमुख र ९ वटा वडामा अध्यक्ष जितेको नेपाली कांग्रेस नै कार्यपालिकामा अल्पमतमा परेको छ ।

    २७ सदस्यीय कार्यपालिकामा एमालेको उपप्रमुख, ८ जना वडाअध्यक्ष र ८ जना सदस्य गरी १७ जना भएका छन् । त्यस्तै मेयर जितेको कांग्रेसको १० जना मात्र भएका छन् । तिलोत्तमा नगरपालिकामा १७ वटा वडा रहेका छन् ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो ।

    तिलोत्तमाको प्रमुखमा कांग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रामकृष्ण खाँण निर्वाचित भएका थिए । एमालेका मोहन चापागाईलाई पराजित गर्दै उनी प्रमुखमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस रुपन्देहीको सभापति तथा गृहमन्त्री बालकृष्ण खाँणका सहोदार भाइ समेत हुन् । अघिल्लो निर्वाचनमा खाँण एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए ।

    त्यस्तै उपप्रमुखमा एमालेकी जगेश्वरी देवी चौधरी निर्वाचित भएकी छन् । अघिल्लो निर्वाचनमा पनि उनी उपप्रमुखमा निर्वाचित भएकी थिइन् । चौधरी एमाले रुपन्देहीको उपाध्यक्ष समेत हुन् ।