२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

सिद्धार्थनगरको विकासका लागि नगरबासीको साथ आवश्यक : नगरप्रमुख खान

मंगलवार , जेठ १७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १७ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थनगरको विकासका लागि नगरबासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । उनले विकास हुनुपर्छ भन्ने सबैको निष्कर्ष रहेकाले सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख खानले भने, ‘सबैलाई विकास चाहिन्छ नगरप्रमुख र जनप्रतिनिधिको एक्लो प्रयासले मात्र विकास सम्भव छैन्, यसका लागि सबै एकजुट भइ अगाडि बढ्नुपर्छ । ’उनले प्रत्येक कदममा साथ दिन नगरबासीलाई आग्रह गरे ।

    नगरप्रमुख खानले घोषणापत्र कार्यान्यवन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बहुउद्देश्यीय मण्डप बनाउल धेरै मिहिनेत गर्नुपर्ने बताए । उनले भने, ‘नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट कुन काम कति दिनमा हुन्छ भनेर प्रमुख प्रशासकीय अधिकृतलाई नागरिक वडा पत्र तयार गर्न भनेको छु । ’उनले सिद्धार्थनगरलाई क्लीन एण्ड ग्रीन नगरपालिका बनाउन लागिपरेको बताए । उनले उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवी, साहित्यकार लगायतबाट राम्रो सुझाव आएकाले सल्लाह सुझाव अनुसार नै अघि बढ्ने बताए । उनले नगरपालिकाका जनप्रतिनिधिहरु विभिन्न पार्टीबाट निर्वाचित भए पनि पार्टी भन्दा माथि उठेर नगरको विकासका लागि अघि बढ्नुपर्ने बताए । उनले भने, ‘नगरको विकासका लागि पार्टी भन्दा माथि उठनैपर्छ, नगरपालिका र वडा कार्यालयमा प्रवेश गरिसकेपछि पार्टीको भन्दा पनि जनताको प्रतिनिधिको रुपमा काम गर्नुपर्छ ।’

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले जनप्रतिनिधिको एक्लो प्रयासले मात्र विकास सम्भव नभएकाले जनप्रतिनिधिलाई नागरिकले सहयोग गर्नुपर्ने बताए । उनले घरको फोहर आफै व्यवस्थित गर्ने र जथाभावी फाल्नेको तथ्यांक लिनुपर्ने बताए । उनले जन्मदर्ता, घर नक्सा, व्यवसाय दर्ता, नविकरण, सिफारिस कति दिनमा हुन सक्छ यसबारे नगरपालिकाले नागरिकलाई जानकारी गराउनुपर्ने बताए । उनले निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘सर्वपक्षीय भेला गरेर नगरको विकासका खाका कोर्नुपर्छ ।’

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले पार्टी भन्दा माथि उठेर एकजुट भएर जनप्रतिनिधि नगरको विकासमा लाग्नुपर्ने बताए । उनले बजेटको स्रोत कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए ।
    उद्योग व्यापार संगठन रुपन्देहीका अनिल कुमार ज्ञवालीले नवनिर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले बेरोजगार तथा न्यून आय भएका नागरिकले महंगो रिक्सा भाडा तिर्नुपरेकाले रिक्साको भाडा तोक्नुपर्ने बताए । उनले भने, ‘सकिन्छ भने नगर बस नै सञ्चालन गरौं ।’

    संघका उपाध्यक्ष अरुण कुमार गोयनकाले ठेला व्यवसायको व्यवस्थापनका लागि निश्चित ठाउँ तोक्नुपर्ने बताए । उनले फोहोरमैला व्यवस्थापनका लागि कर्पोरेट हाउसबाट के सहयोग चाहिन्छ त्यो गर्न आफूहरु तयार रहेको बताए ।
    संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले नगरपालिकाले शिक्षा, स्वास्थ्य र सुरक्षामा जोड दिनुपर्ने बताए । संघका पूर्व अध्यक्ष ओमकार गौचनले आन्तरिक व्यापार प्रवद्र्धनका लागि सीमा नाकामा कडाइ गर्नुपर्ने बताए । उनले लुम्बिनी गेटको सौन्र्दयीकरण र सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले रात्रीकालिन व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले ठाउँ दिनुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रातमा आउने यात्रुका लागि यातायातको व्यवस्था गर्नुपर्ने बताए ।

    सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष सुर्य कुमार सारु मगरले घोषणापत्रमा उल्लेख भएका विषयहरु समेटेर बजेट आउने कि हो कि जनताले माग गरेका कुराहरु आउने हो यसबारे स्पष्ट पार्नुपर्ने बताए । उनले सिद्धार्थ बसपार्क नगरपालिकाको गहना भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पल्लवी न्यौपानेले नगरपालिकामा आउने सीपमूलक कार्यक्रमको सञ्चालन गर्न नगरपालिकामा दर्ता भएको संघ–संस्थालाई प्राथमिकता दिनुपर्ने बताइन् । संघका कार्यसमिति सदस्य हरिष सेठियाले नगरपालिकाको नक्सा फांटमा बेथिति देखिएकाले यसबारे ध्यान दिनुपर्ने बताए ।

    संघका कार्यसमिति सदस्य गौरव श्रेष्ठले फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनले बुद्धचोक र देवकोटा चोकमा जडान भएको ट्राफिक लाइट जडान भए पछि बारम्बार बिग्रने कारण नागरिकले सास्ती खेप्नुपरेको बताए । उनले ट्राफिक लाइटको अवस्थाबारे यथार्थ कुरा बुझेर कहीकतै गल्ती गरेको पाइए ठेकेदारलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरे ।
    संघका कार्यसमिति सदस्य गोपाल भण्डारीले विकास निर्माणका कार्यमा हस्तक्षेप गर्न नहुने बताए । उनले ई–रिक्साका कारण ट्राफिक व्यवस्थापनमा चुनौती रहेकाले यसबारे ध्यान दिनुपर्ने बताए । उनले नगरमा नयाँ बन्ने घरमा ‘अण्डर ग्राउण्ड’ पार्किङको व्यवस्थाका लागि नगरपालिका अघि बढ्नुपर्ने बताए । संघकी कार्यसमिति सदस्य रचना क्षेत्रीले शिक्षा क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताइन् ।

    पत्रकार प्रकाश न्यौपानेले घर बनाउने क्रममा सडकमै निर्माण सामग्री राख्दा आवातजावतमा समस्या भएकाले यसबारे नगरपालिका गम्भिर हुनुपर्ने बताए । उनले वडा कार्यालयहरुमा पनि व्यवस्थित पार्किङको व्यवस्था हुनुपर्ने बताए ।
    साहित्यकार रुद्र ज्ञवालीले सिद्धार्थनगरको आफ्नै भैरहवा नगर गान तयार गर्नुपर्ने बताए । उनले विज्ञ समूहबाट सुझाव लिएर नगरपालिका अघि बढ्नुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता तथा स्वागत, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी तथा वडाअध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।