२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

स्थानीय तहमा जनप्रतिनिधि बनेका बस व्यवसायीहरुलाई बधाई तथा सम्मान

मंगलवार , जेठ १७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, १७ जेठ । 
    स्थानीय तहको निर्वाचनमा निर्वाचित पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध व्यवसायीहरुलाई बधाई तथा सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित २ जना वडाअध्यक्ष र २ जना सदस्यहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन तथा सम्मान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले जनाएको छ । 

    प्रा.लि.का अनुसार यसरी सम्मानित हुने बस व्यवसायी जनप्रतिनिधिहरुमा बुटवल उप–महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष पदमराज गाहा, वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, सदस्यहरुमा वडा नम्बर १० का रमेश अधिकारी र वडा नम्बर ३ का अमृत खड्का रहेका छन् । 

    बधाई तथा सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दधिराम खरेलले बस सञ्चालक तथा व्यवसायीहरुको यो विजय समग्र आम व्यवसायी, चालक, सह–चालकको विजय भएको उल्लेख गर्दै पार्टीले टिकट दिएर सम्मान गरेकोमा नेपाली काँग्रेस लगायतका दलहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 

    विगतमा राजनैतिक दलहरुले बस व्यवसायीहरुलाई दृष्टिकोणमा हाल परिवर्तन आएको उल्लेख गर्दै अध्यक्ष खरेलले बुटवलको इतिहासमा यति धेरै संख्यामा जनप्रतिनिधिका लागि पार्टीबाट टिकट पाएको र विजयी भएको विषय सबै बस व्यवसायीहरुका लागि आनन्दित र गर्वको कुरा भएको बताए । बस ब्यबसायी र मजदूरहरुका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिहरु जागरुक भएको लाग्नुपर्ने कुरामा जोड दिँदै उनले बसपार्क लगायतका समस्या समाधानका लागि बस ब्यबसायी र बुटवल उपमहानगरपालिकाबीच समन्वय र सहकार्य आवश्यक रहेको चर्चा गरेका थिए । 

    यस्तै समितिका सञ्चालकहरु नारायण प्रसाद घिमिरे, जिवनकुमार बन्जाडे, मोहन पिएस, प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल लगायतले विस्तारै यातायात व्यवसायी तथा मजदूरहरु राज्य सञ्चालनको तहमा निर्वाचित भएर जानु सबै व्यवसायी र मजदूरहरुको आत्मसम्मान बढेको विचार व्यक्त गरेका छन् । नवनिर्वाचित वडाध्यक्षहरु लोकनाथ न्यौपाने र पदमराज गाहा मगरले बस व्यवसायीका समस्या समाधानका लागि आवश्यक प्रयास गर्ने बताउँदै जनताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।