आइतवार , जेठ १५, २०७९
काठमाडौं, १५ जेठ ।
गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाँणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए ।
जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij