आइतवार , जेठ १५, २०७९
बुटवल, १५ जेठ ।
सरकारले समायोजन गरी तोकेको भाडा दर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर व्यवहारमा पाउनुपर्ने भन्दै यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्काएर ढुवानी कार्य रोक्ने निर्णय गरेका छन् ।
एकातर्फ भारतीय ओभरलोडका सवारीसाधनहरुले नेपाली यातायात व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ उचित भाडादर असुली नहुँदा पेशा नै संकटमा परेको गुनासो व्यवसायीले गदै आएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडा दर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरुले एक कार्यक्रम गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आन्दोलनका कार्यक्रमसँगै व्यवसायी संस्थाहरुले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसंग पनि सहकार्य गर्ने निर्णय गरी अघि बढेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए । उनले ट्रक व्यवसायीहरुको पेशा रेड जोनमा पुगेकोले बाध्य भएर व्यवसायीलाई बचाउनका लागि आन्दोलनमा जानुपरेको गुनासो गरे ।
राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडा दर कार्यान्वयन नहुँदा ट्रक व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताए । उनले ढुवानी व्यवसायीहरुले सहयोग गरेमा सरकारले तय गरेको भाडा असुलीमा सहयोग हुने धारणा राखे ।
कार्यक्रममा वाणगंगा ट्रक समितिका सचिव लक्ष्मण भुसालले सरकारले तोकेको भन्दा कम दर रेटमा ट्रान्सपोर्ट व्यवसायी ढुवानी गर्न नहुने बताए ।
ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले सरकारले पटकपटक समायोजन गरेको ढुवानी भाडा दर कार्यान्वयन नहुँदा व्यवसायी मर्कामा परेको बताए ।
सरकारले आफैले तोकेको भाडा दर कार्यान्वयन नहुँदा व्यवसायी मर्कामा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरि कंडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij