शनिवार , जेठ ७, २०७९
भैरहवा, ७ जेठ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले भैरहवामा आगामी असार १ गतेसम्ममा वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताएका छन् । उनले सकेसम्म जेठ महिनाभित्र र ढिलो भए असार १ गतेसम्ममा कार्यालय स्थापना गर्ने बताएका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘कार्यालयका लागि स्थान उपलब्ध गराउनहोस्, हामीले यहाँ खोल्न लागेको कार्यालय बुटवलको जस्तो श्रम कार्यालय नभइ काठमाडौंस्थित ताहाचलमा भएको जस्तो कार्यालय हो, यसका लागि कर्मचारी दरबन्दीदेखि लिएर विभिन्न कुराको व्यवस्थापन गर्नुपर्छ । ’
बुटवलमा रहेको श्रम कार्यालय जस्तै नेपालका ११ वटा स्थानमा कार्यालय रहेको उनले जानकारी दिए । नेपालमा रहेका ८५७ वटा म्यानपावरमध्ये २०० वटा म्यानपावरको शाखा भैरहवामा खुल्ने र ती म्यानपावरहरुलाई मन्त्रालयको तर्फबाट आवश्यक सुविधा प्रदान गरिने उनले बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सलाई राम्रो तरिकाले सञ्चालन गर्न पाइए अन्य एअरलाइन्सलाई नआइ सुखै छैन् ।’
जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थललाई चलाउनु सम्पूर्ण नेपालीको दायित्व भएको आफूले बुझेको उनको भनाइ थियो । उनले भने, ‘विमानस्थलमा श्रम स्वीकृति कार्यालय भएर मात्र हुँदैन, यो विमानस्थल हुँदै वैदेशिक रोजगारका लागि जाने नागरिकको स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टर, प्रस्थान गर्नुअघि अभिमुखीकरण तालिम आवश्यक छ, कतार जानका लागि कतारको भिसा सेन्टर एउटा मात्र छ, त्यसका लागि काठमाडौं जानुपर्यो, भिसा सेन्टरको शाखा भैरहवामा खोल्न भनेको छु ।’
आफूसँग भोलि भन्ने शब्दकोश नरहेको भन्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सिंगो नेपालको प्रतिनिधित्व गर्ने भएकाले यो विमानस्थललाई राम्रोसँग चलाउन सके धेरै पर्यटकहरु ल्याउन सकिने र आर्थिक चलायमानले नेपाललाई नै फाइदा हुने बताए । उनले भने, ‘यो विमानस्थल २/४ जिल्लाका लागि मात्र होइन, यो त सम्पूर्ण नेपाली र नेपालको लागि महत्वपूर्ण ठाउँ हो, त्यहीअनुसार हामी काम गर्ने कुरामा कुनै कसर बाँकी राख्दैनौ ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सफल बनाउनुपर्ने उनले बताए ।
विगतमा विदेश जाने नागरिकलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिए पनि अहिले त्यो भने नरहेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक युनिट १ हप्ता/१५ दिनमा व्यवस्था मिलाइदिन मन्त्री श्रेष्ठलाई आग्रह गरे । उनले श्रम स्वीकृति कार्यालय भैरहवामा स्थापना हुनुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न एअरलाइन्सहरुलाई छुट दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवाहरुलाई सुविधा प्रदान गर्न र उद्योगी व्यवसायीका समस्या समाधान गर्न भैरहवामा श्रम कार्यालय स्थापना गर्नुपर्ने माग गरे ।
कार्यक्रममा बोल्दै सिद्धार्थ होटल एशोसियशन (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले वैदेशिक रोजगारमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाटै हुनुपर्ने माग गरे । उनले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा व्यवसायिक उडान सञ्चालनको सुरुवात भइसकेको अवस्थामा यही विमानस्थल हुँदै वैदेशिक रोजगारीको लागि जाने नागरिकलाई श्रम स्वीकृतिका लागि राजधानी जानुपर्ने बाध्यता हटाउन माग गरे । श्रेष्ठले सहज रुपमा सेवा प्रवाहका लागि भैरहवामा पनि व्यवस्थित श्रम स्वीकृति कार्यालयको स्थापनाका लागि सम्बन्धित निकायहरुमा आवश्यक समन्वय तथा निर्देशक प्रदान गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवामा श्रम कार्यालय नभएको अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जाने श्रमिकलाई समस्या पर्ने भएकाले यथाशिघ्र कार्यालय स्थापना हुनुपर्ने बताए ।
पर्यटन व्यवसायी संजय बजिमयले वैदेशिक रोजगारीमा रहेका प्रत्येक नेपालीले विदेशबाट कम्तीमा दुई जना पर्यटक नेपाल पठाउन सके त्यसले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षता तथा संघका कार्यकारी सचिव आनन्द खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij