२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

को हुन् सिद्धार्थनगरको उपप्रमुखमा निर्वाचित अधिकारी ?

बिहिवार , जेठ ५, २०७९

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा, ५ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख (उपमेयरमा) नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार उमा अधिकारी निर्वाचित भएकी छिन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनलाई पराजित गर्दै अधिकारी उपप्रमुखमा निर्वाचित भएकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कमला थापाले ४ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन् ।

    को हुन् अधिकारी ?

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ निवासी उमा अधिकारी स्वर्गीय धनपति उपाध्याय तथा नेकपा (एमाले)की नेतृ पुष्पाञ्जली उपाध्यायकी कान्छी बुहारी हुन् । एमालेका सांसद समेत रहेका स्व. उपाध्याय तथा अखिल नेपाल महिला संघ लगायत पार्टीको केन्द्रीय तहसम्मको नेतृत्व सम्हालेकी पुष्पाञ्जली उपाध्यायको परिवारकी सक्रिय सदस्य उमा हाल एमाले रुपन्देहीको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा छन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय उमा एमालेको युवा नेतृको रुपमा परिचित छन् ।

    विगतका आन्दोलनहरुमा सक्रिय योगदान गरेकी उमा जुझारु, परिश्रमी र इमान्दार युवा नेतृ हुन् । अध्ययनको सिलसिलामा भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थी जीवन बिताएकी उमाको तत्कालिन विद्यार्थी नेता पार्थिवेन्द्र उपाध्यायसँग बिहे भएपछि विद्यार्थी राजनीतिबाट एमालेको पार्टी पंक्तिमा उभिएकी हुन् । पार्थिवेन्द्र वि.सं. २०५१ को आम निर्वाचनबाट सांसद पदमा निर्वाचित लोकप्रिय नेता स्व. धनपति उपाध्यायका कान्छा छोरा हुन् । उमाकी सासु आमा पुष्पाञ्जली उपाध्याय एमालेमा शालिन, सभ्य र सरल नेतृका रुपमा परिचित छन् । सासु ससुरा र आफ्ना जीवन साथी समेतको पार्टीप्रतिको प्रतिवद्धताबाट परिचित उमालाई एमाmेमा गहन जिम्मेवारी बहन गर्ने संस्कार घरपरिवारबाट नै बसेको छ । अन्तरमनले राजनीति गर्ने अठोट बोकेकी उनले विगतका आन्दोलन र पार्टीका निर्वाचनहरुमा सशक्त भूमिका निर्वाह गरेर आफ्नो क्षमता प्रदर्शन गरेकी छन् । कलिलै उमेरमा राजनीतिमा सफलता हासिल गरेकी अधिकारी २०५७ सालमा पार्टीका भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को सदस्यता लिएकी हुन् । २०६० सालमा उनले अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्षको जिम्मेवारी पुरा गरेकी थिइन् । सोही अवधिमा उनी अनेरास्ववियुको अञ्चल कमिटी सदस्य र महिला विभाग प्रमुख समेत भएर काम गरेकी थिइन् ।

    उनी २०६३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । रुपन्देही जिल्ला खेलकुद विकास समितिको सदस्य हुँदै लुम्बिनी खेलकुद परिषदको कार्यकारी सदस्य भएर काम गरेको अनभुव उनले राखेकी छन् । उमा हाल रुपन्देही क्रिकेट संघको कार्यसमिति सदस्य रहेकी छन् । उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारी समेत बहन गरेकी छन् ।