सोमवार , जेठ २, २०७९
लुम्बिनी-रुपन्देहीको भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ।
भैरहवामा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उद्घाटन गरेका हुन्।
आइतबार नै लुम्बिनी आइसकेका प्रधानमन्त्री देउवाले सोमबार बिहान आठ बजेतिर विमानस्थलको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटनसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रुपमा व्यवसायिक उडान शुरु हुनेछ। करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको विमानस्थलले बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग हवाई सम्पर्क स्थापित गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए।
उनका अनुसार सोमबार बिहान सवा सात बजे कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान ६८ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक दाहालले जानकारी दिए। बिहान भैरहवा आएको जहाज आज सोमबार नै ९० जना यात्रु बोकेर कुवेत फर्किने उनले बताए।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन्।
तीन हजार मिटर लामो धावनमार्गसहित पाँच वटा विमान पार्किङ गर्नसक्ने क्षमता छ। एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्याङ्की, बगैँचाहरूलगायत आवश्यक संरचना तयार भएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने दाहालले बताए।
औपचारिक रुपमा व्यवसायिक उडान शुरु भएपछि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा ३ वटा उडान भर्ने गरी अनुमति लिएको छ।
जजिरासँगै अरु एयरलाइन्सहरुले पनि हवाई उडान सञ्चालनका लागि अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले बताए। उनका अनुसार थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा छन्।
विमानस्थलले प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिनसक्ने छ। २०७१ सालको माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको हो।
अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब ३२ अर्ब पुगेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij