२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बुद्ध जयन्ती चार दिनसम्म विभिन्न कार्यक्रम गरि भब्यताका साथ मनाइने

आइतवार , बैशाख २५, २०७९

भैरहवा । लुम्बिनी विकास कोषले २५६६ बुद्ध जयन्ति जेष्ठ १ गते देखि ४ गते सम्म मनाउने जनाएको छ। कोषद्वारा लुम्बिनीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ति र लुम्बिनी दिवस भव्य रुपमा मनाउने जनाएको छ ।
 
कोषका सदस्य सचिव सानुराजा शाक्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तरगत विभिन्न उपसमितिहरुले काम गरिरहेको बताए। बुद्ध जयन्तिकै अबसर पारेर लुम्बिनीमा निर्माणा सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको पनि उद्घाटन गरिने जनाईएको छ। हलको बुद्ध जयन्तिकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
 
२५६६ औ बुद्ध जयन्तिकै अवसरमा जेष्ठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एवम देवदहको भवानीपुरमा बिहान बौद्ध पुजा तथा दिप प्रज्वलन गरि मनाइदै छ । रामग्राम नवलपरासीमा १ जेष्ठ सांझ ४ बजेबाट बौद्ध प्रवचन तथा दिप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान सम्बन्धी कार्यक्रम रहेको छ । जेष्ठ २ गते विहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ विहान ७ बजे मायादेवी परिसर देखि शान्ति दिप सम्म शोभा यात्रा, विहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उद्घाटन गरिनेछ ।
 
यस्तै विहान १० बजे देखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ति समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरि मनाइने शाक्यले बताए । यस्तै दिउसो ५ बजे देखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, सांझ लुम्बिनीको मायादेवी परिसरमा दिप प्रज्वलन गरिने कार्यक्रम छ ।
 
यसै गरि जेष्ठ ३ गते लुम्बिनी देखि कपिलवस्तु सम्म सिद्धार्थ गौतमको शोभायात्रा,प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा २ दिने तिलौराकोट सम्मेलन रहेको शाक्यले बताए । लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्दिचरण)ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आउने खबरले कोषलाई हर्षित बनाएको बताए । उनले यसको औपचारिक खबर कोषलाइ प्राप्त नभए पनि यदि मोदि आए कोषले त्यस सम्बन्धी तयार रहेको बताए ।