
आइतवार , बैशाख २५, २०७९
बुटवल, २५ वैशाख ।
लैंगिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार तथा वडाका उम्मेदवारलाई विजयी बनाउन महिलाहरुले आग्रह गरेका हुन् ।
बुटवल उपमहानगरमा एमालेका जनप्रतिनिधि निर्वाचित भएपछि लैंगिक समानता र सामाजिक समावेशीताका सवालले प्राथमिकता पाएको भन्दै महिलाहरुले अहिले पनि एमाले उम्मेदवारका पक्षमा खुलेर लाग्ने बताए ।
बुटवल–१३ मा आयोजित वडा भेलामा बोल्ने महिलाहरुले अघिल्लो निर्वाचनमा वडाको नेतृत्व कमजोर हुँदा विकासका काम अघि बढ्न नसकेकाले अहिले जसरी पनि जित हासिल गर्ने बताए । यो निर्वाचनमा वडाका उम्मेदवारले फराकिलो मतान्तरले जित हासिल गर्ने वातावरण तयार भएको उनीहरुको भनाइ छ ।
भेलामा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैंगिक हिंसामुक्त नगरका लागि रणनीति बनाएर काम अघि बढाइएकाले अबको त्यो कार्य पुरा गर्न एमाले नेतृत्व आवश्यक रहेको बताइन् । उनले महिला सशक्तिकरणका लागि युवा तथा महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी उद्यमी बनाउने, मातृ शिशु सुरक्षाका लागि गर्भवती तथा सुत्केरी भेटघाट, गर्भवती महिला निःशुल्क प्रयोगशाला सेवा जस्ता कार्यक्रमहरु सञ्चालन भएको जानकारी गराउँदै अबका दिनमा यसलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख गरिन् ।
भेलामा बोल्दै वडाअध्यक्ष पदका उम्मेदवार शोभाखर पोखेरेलले वडाबासी महिलाहरुको चाहना र आवश्यकता बुझेर वडासहित उपमहानगरलाई लैंगिकमैत्री बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
भेलामा वडा सदस्य पदका उम्मेदवार ध्र्रुव थापा, मन्दिरादेवी गौडेल, कृष्णा सुनार, दलबहादुर थापाले महिला अधिकार र सशक्तिकरणका लागि भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिन् ।
भेलामा एमालेका नेताहरु पुरुषोत्तम घिमिरे, मञ्जु बस्नेत, रिता घिमिरे, शान्ता घिमिरे लगायतले बोल्दै वडा तथा नगरको विकासका लागि एमाले उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरे ।
वडा नम्बर १३ मा एमालेले जनमुक्तिसँग सहकार्य गरेको छ । जनमुक्तिका तर्फबाट दलबहादुर थापा उम्मेदवार छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij