बुधवार , बैशाख २१, २०७९
काठमाडौं, २१ वैशाख ।
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द बन्दीले कुनै पनि बहानामा पत्रकारमाथि नियन्त्रण र घेराबन्दी गर्न नहुने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्शन नेपालले मंगलबार गरेको कार्यक्रममा उनले भने, ‘सञ्चार माध्यममाथिको नियन्त्रण प्रचलित नेपाल कानुन, संविधान र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनको प्रावधानविपरीत छ, भने त्यसमा समीक्षा आवश्यक छ । त्यसमा सुधार गर्न सरकार तयार छ ।
‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बन्दीले सञ्चारमाध्यमलाई नियन्त्रण होइन, जिम्मेवार बनाउन सरकार प्रतिबद्व रहेको बताए ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रविधिको प्रयोगले पत्रकारिताको दृष्टान्त परिवर्तन गरेको बताए । उनले प्रविधिको प्रयोगमार्फत सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए । हमालले यसका लागि सरकार सधैँ हातेमालो गरेर अगाडि जान तयार रहेको बताए । प्रेस काउन्सिल नेपालका अधिकृत झविन्द्र भुसालले अहिलेको अवस्थामा प्रविधिले अवसर र पहुँच सिर्जना गरेको बताए । तर, सुखद अवसरसँगै सामाजिक सन्जालको दुरुपयोग बढेको समेत उनको भनाइ थियो ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले विभिन्न बहानामा सञ्चारमाध्यमलाई नियन्त्रणमुखी बनाउन खोजिएको बताए । उनले नेपाललगायत विश्वका विभिन्न देशमा कानुन निर्माणका क्रममा पत्रकारको गोपनीयता उत्खनन गर्ने तथा प्रेस काउन्सिल जस्ता संस्थालाई समेत यसमा प्रयोग गर्न खोजिएको बताए ।
अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलले सञ्चारमाध्यमसम्बन्धी कानून बनाउँदा सरकारले सरोकारवालासँग छलफल नै नगरी छापामार शैली अपनाउने गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij