मंगलवार , बैशाख २०, २०७९
बुटवल, २० वैशाख ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि पूर्ण प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवशरमा बुटवलमा आयोजित ‘प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा’ विषयक प्रदर्शन कार्यक्रममा बोल्दै समाजका सभापति खनालले प्रेस स्वतन्त्रता, जवाफदेहीता, पारदर्शिता र कानूनी शासन समुन्नत लोकतन्त्रका प्रमुख आधारशिलाहरु रहेको उल्लेख गरेका छन् ।
सो अवसरमा समाजका सभापति खनालले मानव अधिकार, राजनैतिक स्थायीत्व र दिगो शान्तिलाई लोकतन्त्रका दरिला खम्बाहरुका रुपमा स्थापित गर्न प्रेस स्वतन्त्रता आवश्यक्ता रहेको चर्चा गरेका छन् । सभापति खनालले भने, ‘कुनै मुलुक कति स्वतन्त्र छ भनी मापन गर्ने काम प्रेस स्वतन्त्रताबाटै हुन्छ । जहाँ प्रेस स्वतन्त्रता प्रत्याभूति हुँदैन, त्यहाँ नागरिकका अन्य प्रकृतिका स्वतन्त्रता पनि कुण्ठित हुन्छन भन्ने विश्वास गरिन्छ ।
मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको बिपिचौकमा आयोजना गरेको सो प्रदर्शन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्दा लोकतन्त्र र सूचनाको अधिकारमा धक्का पुग्ने बताए । उनले प्रेस स्वतन्त्रता र निष्पक्षताको वकालत भइरहे पनि विश्वका विभिन्न मुलुकमा प्रेसमाथि हस्तक्षेप नियमित रुपमा भैरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले विश्वमा सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप हुँदै आएका छन् । नेपालमा पनि बेलाबेलामा प्रेस स्वतन्त्रतामाथि कुठाराघातको प्रयास हुँदै आएको उल्लेख गर्दै अध्यक्ष पहाडीले कानून संशोधनका नाममा नागरिक तथा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयत्न भइरहेकै समेत बताए । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, रुपन्देही सभापति डिपि खनाल लगायतका वक्ताले लोकतन्त्रको रक्षाका लागी प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको अपरिहार्यतामा जोड दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij