२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

हिंसा र असमानताविरुद्ध पत्रकार महिलाहरुले लेख्नुपर्छ : प्रदेश प्रमुख शेरचन

पत्रकार महिलाहरुलाई लैंगिकमैत्री समाचार सम्प्रेषणसम्बन्धी तालिम

शनिवार , बैशाख १०, २०७९

बुटवल, १० वैशाख ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दुषित बनाएको बताउँदै उनले यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने सुझाव दिए ।

संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि लैंगिकमैत्री समाचार सम्प्रेषणसम्बन्धी तालिमको अवसरमा आयोजना गरेको आम सञ्चार र पत्रकार महिलाको क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् । उनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनु गौरवको विषय भएको बताए । उनले पेशामा स्थापित हुन पत्रकार महिलाहरुले पनि सीप र क्षमता बढाउँदै जानुपर्ने सुझाव दिए । पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले समेत लगानी गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताइन । संचारमाध्यममा महिला भए भने मात्रै आवाजविहीनहरुको आवाज उठाउन र महिलाहरुका आवाज बुलन्द पार्न सजिलो हुने उनले बताइन् । उनले संविधान अनुसार शासनसत्तादेखि सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिलामैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गरे । विषयगत ज्ञान र व्यवसायिक सीप बढाउने विषयमा पत्रकार महिलाहरुलाई सरकारले सधै सहयोग गरिरहने बताउँदै उनले यसले लैंगिकमैत्री समाचार सम्पे्रषण हुने अपेक्षा गरेको बताए । 

कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले यो वा त्यो ढंगमा पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउदै त्यसकाविरुद्ध आवाज उठाउन आग्रह गरिन् । गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउँदै उनले यस्तो हुन नदिन पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् । उनले पत्रकारदेखि सामाजिक अभियन्ता र नेतासम्म जोसुकै भए पनि महिलाहरुलाई महिला भएकै कारण समस्या आउने बताउँदै यस्ता समस्याविरुद्ध डटेर सामना गर्न र खुलेर समाचार लेख्न आग्रह गरे ।

कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारे जानकारी गराए । उनले प्रदेश सरकारले हरेक बजेटलाई लैंगिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासंग छलफल समेत थालेको बताए ।

तालिम सहजीकरण गर्दै वरिष्ठ पत्रकार संचारिका समुह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गरिन् । उनले व्यवसायिक सीप र क्षमता बढाउँदै पत्रकार महिलाहरु  प्रतिष्पर्धामा उत्रिरहेको बताइन् । उनले पुरुषको तुलनामा महिला स्थापित हुन समस्या र चुनौति हुने भए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिइन् । 

पत्रकार इन्दिरा अर्यालले रेडियोमा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गरिन् । उनले रेडियो अन्तरवार्ता र रिपोर्टहरुमा कस्ता विषय छनोट गर्ने र त्यसलाई कसरी बनाउने भन्नेबारे सिकाइन् ।

278792586_1098810560976481_6085135387690554276_n.jpg

स्वास्थ्य निर्देशनालयका फोकल पसर्न कौशलराज भण्डारीले प्रजजन स्वाथ्य, परिवार योजना र सुरक्षीत मातृत्वबारेमा सहजीकरण गरेका थिए । त्यसक्रममा प्रदेश सरकारले गरेका प्रजनन स्वास्थ्य र त्यसका क्रियाकलाप, स्वास्थ्य संरचना लगायतका बारेमा प्रष्टाए । प्रजनन स्वास्थ्य महिलाको मौलिक हक हो तर त्यसका पूर्ण कार्यान्वयन गर्न अझै नसकिएको उनले बताए ।  

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमबारे कसरी समाचार बनाउन सकिन्छ भन्नेबारेमा सहजीकरण गरेका थिए । उनले प्रदेश स्थापनादेखि ४ वर्ष बित्दासम्म धेरै काम गरेपनि तिनलाई संचार माध्ययममा ल्याउन नसकिएको बताउँदै अब पत्रकार महिलाले पनि कलम चलाउनुपर्ने बताए ।

संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लैंगिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन् । तालिममा लुम्बिनी प्रदेशको साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका ६ जिल्लाका ५ दर्जन बढी पत्रकार महिलाहरु सहभागी भए । २ दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न विषय विज्ञहरुले सहजीकरण गरिरहेका छन् ।