
शनिवार , बैशाख १०, २०७९
भैरहवा, १० वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले २०७९ सालको भित्तपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भैरहवामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निर्वाचनमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले अनेरास्ववियुसहित एमालेको भातृसंगठनहरुको दबाबका कारण वर्तमान सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले रुपन्देही जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले अनेरास्ववियु सशक्त संगठन भएको बताए । उनले अनेरास्ववियुसहित एमालेको भातृसंगठनको दबाबका कारण पाँचदलीय गठबन्धन सरकार निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको दावी गरे । उनले पार्टीको विधि, पद्दतिमा रहेर विचार जनतामा सम्प्रेषण गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीको एजेण्डा जनतामाझ लैजानुपर्छ, एमालेले सारेका नीति कार्यक्रममार्फत मुलुकलाई समृद्ध बनाउनुपर्छ, एमालेसँग स्पष्ट विचार छ ।’
त्यस्तै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य सीता काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनलाई परास्त गरी एमालेलाई जिताउनुपर्ने बताइन् । उनले भनिन्, ‘अनेरास्ववियु जति बलियो हुन्छ, एमाले त्यति नै बलियो हुन्छ । ’ उनले निर्वाचनमा अनेरास्ववियुको भूमिका अझ महत्वपूर्ण रहने बताइन् ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले सम्पूर्ण स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने बताइन् । उनले एमाले नेतृत्वको सरकारले गरेका कामहरुको प्रचारप्रसार पालिकामा गर्नुपर्ने बताए । एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेका कारण पाँचदल गठबन्धन बनाएर निर्वाचनमा जान थालेको उनको भनाइ थियो । अनेरास्ववियुले मतदाता शिक्षामा जोड दिनुपर्ने उनले बताइन् ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रवि सेञ्चुरीले धेरै आरोह अवरोहकाबीच अनेरास्ववियु यहाँसम्म आइपुगेको बताए । उनले सरकारले जनविरोधी काम गर्दा अनेरास्ववियु अग्रपंक्तिमा रहेर आन्दोलन गर्दै आएको बताए । संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको उनको भनाइ थियो ।
अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारीले स्थानीय तहको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनेरास्ववियु भएको बताए ।
अनेरास्ववियु केन्द्रीय सदस्य तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले एमाले नेतृत्वको सरकारले गरेका कामहरुबारे जनतामाझ पुर्याउनुपर्ने बताए ।
अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष सुनिल खनालको अध्यक्षता, नगर कमिटी सदस्य संजोग बस्यालको स्वागत तथा सह–सचिव के.एल. पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij