शनिवार , बैशाख १०, २०७९
भैरहवा, १० वैशाख ।
सिद्धार्थनगर नगरपालिका न्यायीक समितीले चालु आर्थिक वर्ष २०७८/०७९ मा भए/गरेका कार्यको रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश धनसिंह महराको टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा न्यायीक समितिमा परेका विवादहरुको विवाद निरुपण कसरी गरिएको छ ? स्थानीय सञ्चालन ऐन २०७४ मा कानूनी क्षेत्राधिकार भित्र रहेर गरेको छ कि छैन ? मेलमिलाप प्रक्रिया कसरी भइरहेको छ ? वादी प्रतिवादीहरुमा तारेख कसरी दिएको छ ? म्याद गुजारेका छन् वा छैनन् अन्य कानूनी जटिलता के छ ? भन्ने विषयबारे जानकारी लिइएको थियो । २०७८ कार्तिकदेखि चैत मसान्तसम्म ४५ वटा विवादमध्ये १३ विवाद सहमति भएको, २६ विवाद सम्बन्धित अदालत जानू भनी फैसला गरिएको र ६ वटा विवाद फछ्र्यौट गर्न बाँकी रहेकोे न्यायीक समिति शाखाले जनाएको छ ।
सो अवसरमा न्यायीक समितिका संयोजक उमा काफ्ले, समितिका सदस्य केदारमान राजभण्डारी, उमेश थापा लाटोमगर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, मेलमिलाप केन्द्रका संयोजक भीष्मराज पन्थी, नासु रेखा तुलाधर, सुरुची चौधरी, जिल्ला अदालत रूपन्देहीका नासु चोप बहादुर पाण्डेको उपस्थिति रहेको थियो । अनुगमन टोलीका प्रमुख जिल्ला न्यायाधीश धनसिंह महराले न्यायीक समिति र मेलमिलाप केन्द्रले गरेका कार्यको प्रशंसा गर्नुभएको न्यायीक समितिका सदस्य उमेश थापा लाटोमगरले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij