२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रोहिणी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा 

शुक्रवार , बैशाख ९, २०७९

भैरहवा, ९ वैशाख । 
रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । पालिकाका १२ बर्ष भन्दा माथिका नागरिकले कोभिडविरुद्धको खोप कम्तीमा दुई पटक लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्षमाथिका ३५ हजार ४४ जना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिए । उनले पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको बताए ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिड–१९ को समयमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान सराहनीय रहेको बताए । ‘कोभिडको समयमा अन्य सबै घरभित्र बस्दा तपाईहरु फिल्डमा खटिनु भयो । तपाईहरुको परिवारको चिन्ता लिदै रोहिणीका जनताको सेवा गर्नुभयो । तपाईहरुको यो कार्य रोहिणी गाउँपालिकाका जनताले कहिल्यै भुल्ने छैनन् ।’ यादवले भने, ‘अभावैअभावमा काम गरेका स्वयंसेविका र स्वास्थ्यकर्मीको सेवा सुविधाबारे अहिले गाउँपालिकाले ध्यान दिएको छ ।’

IMG_20220422_120824.jpg

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा रोहिणी गाउँपालिकाका ७ वटै वडाका ९६ जना महिला स्वास्थ्य स्वयंसेविका,स्वास्थ्यकर्मीलाई रोहिणी गाउँपालिकाले सम्मान समेत गरेको थियो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, निर्वाचन अधिकृत रमिला भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, निर्वतमान प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, ईन्द्रमान चौधरी, बिर बहादुर क्षेत्री, आविद अली, महिला स्वयंसेविका लगायतले बोलेका थिए ।