२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

बिहिवार , बैशाख ८, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ८ वैशाख ।
    भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमित भन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए । 
    उनले भने, “जजिरा एअरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एअरलाइन्स पनि सम्पर्कमा रहेका छन् ।” उक्त विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालन भएको छ । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा बिहीबारदेखि आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ । 

    अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट नगरी भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

    भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ । ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । रासस