
बिहिवार , बैशाख ८, २०७९
भैरहवा, ८ वैशाख । रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भैरहवास्थित बालमन्दिरमा स्थापना गरिएको कार्यालयको बिहीबार एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र मुख्य निर्वाचन अधिकृत धनसिंह महराले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिवारीले बिहीबार देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार यहाँ पनि स्थापना गरी उद्घाटन गरिएको बताए । उनले निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रुपमा तालिमहरु सम्पन्न गरिसकेको र त्यो अनुसार सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको बताए । उनले भने, ‘हामी निर्वाचनको सघन चरणमा प्रवेश गरेका छौं निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रम बमोजिम आफ्ना गतिविधि कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गरेर वैशाख ३० गते निर्वाचन कार्यक्रम सम्पन्न गर्छौं ।’
सुरक्षाको व्यवस्थापन पूर्ण रुपमा सम्पन्न भइसकेको प्रजिअ तिवारीको भनाइ थियो । नेपाल सरकार गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा तयार गरिसकेको र जिल्ला सुरक्षा समितिले पनि जिल्लाको एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताए ।
‘सुरक्षा योजनाले प्रत्येक मतदाता, उम्मेदवार र कर्मचारी जो निर्वाचनमा संलग्न हुन्छन्, उनीहरुको सुरक्षालाई प्रत्याभुति गर्छ, हामी सुरक्षित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न तयारीमा लागेका छौं । ’ निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको प्रजिअ तिवारीले बताए । निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचनमा आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले आचारसंहिता पालना गर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । उनले भने, ‘आचारसंहिता पालनामा कडाइ हुन्छ, सबैलाई समान व्यहार हुन्छ, सबैबाट सहयोगको अपेक्षा गरेका छौं, हामी उत्साहित छौं ।’ जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij