
बुधवार , बैशाख ७, २०७९
नरायण प्रसाद भण्डारी
मेयर पदका आकांक्षी
सिद्धार्थनगर नगरपालिका, रुपन्देही
नारायण प्रसाद भण्डारी भैरहवा क्षेत्रकै परिचित नाम हो । वि.सं. २०३१ सालमा गुल्मी जिल्लाको साविक वस्तु गा.वि.स–१ हाल धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका भण्डारी हाई स्कूलसम्म गाउँमै अध्ययन गरे । उच्च शिक्षाका लागि उनी रुपन्देही झरेका हुन् । बुुटवल वाणिज्य क्याम्पसबाट आई.कम. र भैरहवा बहुमुखी क्याम्पसबाट बी.बी.एस.अध्ययन पुरा गरी काठमाडौंबाट एम.बी.ए. पास गरेका छन् । वि.सं. २०५१ सालदेखि सिद्धार्थनगर नगरपालिकामा बसोबास सुरु गरेका भण्डारी विद्यार्थी कालदेखि नै व्यवसायसँगै राजनीति र समाजसेवामा चासो राख्ने व्यक्ति हुन् ।
निजी व्यवसायसँगै सामाजिक गतिविधिमा सक्रिय हुनेक्रममा उनले उद्योग व्यापार संगठन रुपन्देहीमा दुई कार्यकाल अध्यक्षसहित १४ वर्ष सक्रिय भूमिका निर्वाह गरे । जसले उनलाई समाजसेवा र राजनीतिमा सक्रिय रहन प्रेरित गर्यो । कोभिड–१९ को महामारी फैलिएका बखत अस्पतालहरुमा अक्सिजन सिलिण्डर र उपचारका लागि बेड अभाव भएको चरम् संकटका समयमा यस क्षेत्रकै पुरानो सरकारी अस्पताल भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी कुशलतापुर्वक निभाएका थिए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको निर्वाचित अध्यक्ष, भैरहवा बहुमुखी क्याम्पसको बोर्ड सदस्य, उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी. संस्था लिमिटेडको उपाध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सदस्य रहेका भण्डारी व्यवसायिक तथा सामाजिक क्षेत्रमा मात्र सक्रिय सहभागी छैनन्, राजनीतिमा पनि उत्तिकै क्रियाशील छन् । केही महिनाअघि सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको सचिवमा निर्वाचित भएका भण्डारीको सक्रियताका कारण एमालेको तर्फबाट सिद्धार्थनगरको मेयर पदका लागि सिफारिसमा समेत परेका छन् । अवसर पाएमा चुनाव जितेर सिद्धार्थनगरमा एमालेको बर्चस्व कायम गर्न विश्वस्त भएको बताउने भण्डारीसंग अहिलेको समसामयिक बिषयमा गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :
देश स्थानीय तहको निर्वाचनको तयारीमा छ, यहाँले अहिले के गतिविधि गर्दै हुनुहुन्छ ?
यही वैशाख ३० गते देशमा स्थानीय तहको निर्वाचन हुँदैछ । हामी पनि यतिबेला निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छौं । म ने.क.पा. (एमाले) को सिद्धार्थनगर नगर कमिटीको सचिवको जिम्मेवारीमा रहेका कारण यस नगरका १३ वटा वडाहरुमा संगठन विस्तार, निर्वाचनको माहोल सृजना गर्ने, पार्टीका टोलस्तरीय कमिटीहरु निर्माण, बैठक बसाल्ने, निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन लगायतका कार्यलाई प्राथमिकता दिँदै निर्वाचनको तयारीमै व्यस्त छु । सिद्धार्थनगरलाई एमालेको गढ बनाउन लागिपरेका छौं ।
तपाई सामाजिक संघ–संस्थामा काम गर्ने मान्छे, एक्कासी राजनीतिक गतिविधिमा लाग्नुभयो । पार्टी छोडेर एमालेमा आएको मान्छे भनेर पनि कसै–कसैले भन्ने गरेको पाइयो । सत्य के हो ?
म विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था तथा संगठनमा सक्रियतापूर्वक काम गर्दै गर्दा पनि राजनीतिक रुपमा पार्टी सदस्य रहेको थिएँ, आफ्नो ठाउँबाट पार्टीलाई सहयोग गरिरहेको थिए । जब म उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षको भूमिकाबाट बाहिरिएँ, त्यसपछि पार्टीलाई पनि सशक्त रुपमा अघि बढाउनुपर्छ भनेर सक्रिय भएको हुँ ।
अर्कोकुरा यहाँले भनेजस्तो म कुनै पार्टी छाडेर आएको होइन । ने.क.पा एमाले र ने.क.पा (माओवादी केन्द्र) बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बनेको हो । सर्वोच्च अदालतको फैसलाले नेकपालाई पुरानै पार्टीमा अलग–अलग कायम भएका हुन् । हामी देशमा सशक्त र ठूलो कम्युनिष्ट पार्टी चाहने भएकाले म लगायत ठुलो पंक्ति एकता प्रक्रियामै सहभागी भएर एमाले छाडेनौं । अझै मजबुत तरिकाले एमालेको झण्डामुनी बसेर काम गर्न अगाडि बढेका हौं । कुनै पार्टी छोडेको वा पार्टी प्रवेश गरेको भन्ने होइन । पार्टी विभाजिन भएर अप्ठ्यारो परेकोे बेला कतै नढल्मलाई एमालेमा काम गरेको हो । यो पार्टी एकताको निरन्तरता पनि हो ।
तर तपाईलाई पार्टीमा नयाँ हो भन्छन् नी ?
म पार्टीमा नयाँ अनुहार होइन । मैले २०४९ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भइ काम गर्दै आएको थिएँ । पछिपनि पार्टीका भातृ संगठनसंगै व्यवसाय र व्यवसायिक संघ–संस्था दुवैतिर काम गर्दै आएको हुँ । २०४८ को निर्वाचन नेपाली कांग्रेसले जितेपछि मलाई राजनीति मुुद्दा समेत लागेको थियो । त्यो मुद्दा मैले जितें । त्यसपछि निरन्तर पार्टीमा र पार्टीका विभिन्न निकायमा काम गर्दै आइरहेको छु । तसर्थ म पार्टीमा नयाँ होइन तर राजनीतिमा शुद्धता, नैतिकता र भ्रष्टचार विरोधी फ्रेस अनुहार पक्कै हो ।
तपाई सिद्धार्थनगरमा अहिलेसम्म कुन संस्थामा बसेर के–के काम गर्नुभयो छोटकरीमा बताइदिनुहोस न ?
म यस क्षेत्रबाट उच्च शिक्षा एम.बी.ए. सम्मको शिक्षा हासिल गर्दागर्दै आफ्नो व्यवसाय अगाडी बढाएको मान्छे हुँ । सबैले पढेर बेरोजगार हुने देखेर मलाई व्यवसाय गर्नेतर्फ ध्यान गयो । व्यवसाय क्षेत्रमा काम गर्दागर्दै ३० वर्षको उमेरमा संघ–संस्थामा पनि प्रवेश गरें । पहिलो संस्था उद्योग व्यापार संगठन रुपन्देही थियो । त्यहाँ कार्यसमितिबाट प्रवेश गरेर सह–कोषाध्यक्ष, सचिव, महासचिव र दुई कार्यकाल अध्यक्ष गरी १४ वर्ष काम गरें । एउटा कोषमा सञ्चालित संगठनलाई मैले र मेरो नेतृत्वको टीमको लगनशिलताले कोरोनाको भयावह समयमा पनि सिद्धार्थनगर वडा नम्बर स्थित उदयपुरमा ९ मा साढे दुई कठ्ठा जग्गा खरिद गरी ७५० सिटको सभाहलसहितको साढे दुईतल्ले पक्की भवन बनाएर गत २०७८ भदौ महिनामा मैले अध्यक्षको जिम्मेपारीबाट बिदा लिएँ । अहिले निवर्तमान अध्यक्ष छु ।
त्यहाँँ काम गर्दा गर्दै लुम्बिनी प्रदेश सरकारले २०७८ वैशाख २२ गतेको निर्णयले भैरहवा भीम अस्पतालको अध्यक्षमा मनोनित ग¥यो । त्यो अप्ठ्यारो समयमा मैले निर्भयपूर्वक त्यहाँ गएर सकारात्मक परिवर्तन गराउन सुरु गरें । अक्सिजन प्लाण्ट स्थापना गरियो । बेड विस्तार भयो । भेन्टिलेटर जडान भयो । सरसफाईदेखि सम्पूर्ण काम अघि बढ्दै थिए । यो कुरा सबैलाई जाहेर नै छ । काम गर्दैगर्दा अर्को सरकारले अध्यक्षबाट फिर्ता बोलायो । साथै मैले रोटरी क्लब, सहकारी लगायतका संस्थाको सामाजिकस्तरका सबै कार्यक्रम र यस क्षेत्रका सामाजिक प्रकृतिका संघ–संस्था लाई सहयोग गर्ने, अघि बढाउने आदि धेरै कार्य गरेको छु । त्यो सिद्धार्थनगरका बासिन्दाले हेर्नु देख्नु भएकै छ ।
उद्योग व्यवसायका पनि कुरा गर्नुभयो । हाल यहाँ कुन–कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?
म यो क्षेत्रमा २०५५ साल देखि व्यवसायलाई शरु गरेको हु । सबैभन्दा पहिला मैले भैरहवा चश्मा घर भन्ने चश्मा पसल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित आँखा अस्पताल अगाडि खोलें । पछि २०५७ मा मनिचेञ्जर खोले । २ वटा व्यवसाय अगाडि बढाउँदै गएपछि समय परिस्थिति अनुसार पेशा बदली अहिले प्राइम इन्फ्रास्टक्चर प्रा.लि, पञ्च महालक्ष्मी इण्डष्ट्रिज प्रा.लि.(स्वस्तिक ग्यास), प्राइम इलेक्ट्रोनिक्स लगायतका व्यवसायहरुमा आबद्ध छु ।
व्यवसाय र राजनीति कसरी व्यवस्थापन गर्नुभएको छ ?
विगत ५ वर्ष देखि जब म उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्ष भएँ त्यस पश्चात मैले अप्रत्यक्ष रपमा सहयोग गरेपनि प्रत्यक्ष रुपमा परिवार र व्यवसायिक पार्टनर साथीहरु र कर्मचारीले मेरा व्यवसायमा सहयोग गर्नुभएको छ । अहिले पनि म नेकपा एमालेको नगर सचिव भएकाले पार्टीमा पनि समय दिनुपर्ने भएकाले मैले अहिले प्रत्यक्ष कुनै व्यवसाय हेर्दिन ।
यहाँ एमाले बाट सिद्धार्थनगरको मेयरका लागि सिफारिसमा पर्नुभएको छ । टिकट पाउने सम्भावना कति छ ?
राम्रो प्रश्न गर्नुभयो । जब मैले उद्योग व्यापार संगठन रुपन्देही र भीम अस्पतालमा अध्यक्षको रुपमा काम गरेँ, त्यसपश्चात मलाई जनताको सेवा गर्ने, विकास निर्माणका कार्यहरु, सामाजिक प्रेरित कामहरु गर्ने चाहना बढेर गयो । अहिले म ती दुवै संस्थामा निवर्तमान भइसकेको छु । अब मैले यस क्षेत्रको विकासमा केही गर्नुपर्छ भनेर नगरको प्रमुखमा पार्टीले जिम्मेवारी दिएमा चुनाव लड्ने मनस्थिति बनाएको हुँ । सामाजिक काम गर्न सक्ने एउटा प्रवल सम्भावना भएको ठाउँ भनेको नगरपालिका हो । मेयरको रुपमा त्यहाँ गएपछि धेरै जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने लागेर आकांक्षा राखेको हुँ र सिफारिसमा पनि परेको छु ।
टिकट पाउने कुराको बारेमा भन्नुपर्दा एमाले एउटा विशाल पार्टी हो । यसमा धेरै नेता कार्यकर्ता हुनुहुन्छ । त्याग बलिदान गरेर आफ्नो लामो समय पार्टीमा खर्चेका अगुवा नेतासहित ८ जनाले मेयरमा दावी गरेका छौं । यसमा मेरो कुरा के छ भने, आदरणीय नेताहरुलाई माथिल्ला पदहरुमा, संघीय सांसद, प्रदेश सांसद लगायत विभिन्न तहमा जिम्मेवारी दिदै यस पटक सिद्धार्थनगरका जनता, उद्योगी व्यवसायी, संघसंस्था, सामाजिक व्यक्तित्वहरु र आम नगरबासी सबैको मलाई मेयर बनाउने चाहना अनुुुसार पार्टीले मलाई टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।
टिकट पाएमा चुनाव जित्ने आधार केहो ?
म एमालेबाट टिकट लिदै गर्दा हाम्रो पार्टी सिद्धार्थनगरमा मजबुत छ । २०७४ मा मेयर, उपमेयरसहित बहुमत जितेको थियो । अहिले अझै भोट बढाएका छौ । संगठन टोल टोलसम्म पुर्याएका छौँ । नगरस्तरीय जनसंगठनहरु निर्माण गरेका छौँ, भने अर्कातर्फ सिद्धार्थनगरवासीले मेरो उम्मेदवारीलाई सिद्धार्थनगरको विकासको लागि साझा उम्मेदवार मानेका छन् । त्यही भएर चुनाव जितिन्छ । भारी मतसहित सिद्धार्थनगरवासीले चुनाव जिताउनु हुन्छ । अहिलेको भोट सिद्धार्थनगरको विकास र समृद्धको लागि भन्ने मेरो नारा हुन्छ ।
यहाँले अघि सारेकै नारा अनुसार सिद्धार्थनगरको विकास र समृद्धको लागि केकस्ता योजना हरु छन् ?
सर्वप्रथम म लामो समय सिद्धार्थनगरमा संघ–संस्था अस्पतालमा काम गरिरहदा अथवा आफ्नो व्यवसायमा लागि रहदा सिद्धार्थनगरका १३ वटै वडालाई बुझ्ने मौका पाएँ भने पहिला जनप्रतिनिधि नभएको समयमा १० वर्ष नगरपालिकाका विभिन्न समितिहरुमा बसेर काम गरेको छु । यदी मैले सिद्धार्थनगरको प्रमुखमा उम्मेदवारी दिने मौका मिल्यो भने मेरा योजना धेरै छन् । विभिन्न राष्ट्रिय गौरवका आयोजना समेत सञ्चालनमा रहेको सिद्धार्थनगरलाई विकास गरी यहाँको मुहार फेर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ ।
यहाँको सरसफाइमा ध्यान दिँदै नगरको सौन्दर्यीकरणमा यहाँका सडकहरु, नाला, हरियाली बगैचा, चिल्ड्रन पार्कहरुसहित प्रत्येक नगरवासीले हिलो धुलो कुच्नु नपर्ने गरी सबै वडामा समानुपातिक विकास गर्ने मेरो प्रमुख काम हुनेछ । यहाँको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार, कृषि, खानेपानी, रोजगारी लगायतका क्षेत्रमा उल्लेख्य विकास गरी यहाँका नागरिकलाई सुरक्षाको ग्यारेण्टी गर्नमा समेत मेरो महत्वपूर्ण भूमिका रहन्छ ।
नगरभित्र रहेका सरकारी जग्गाको संरक्षण, पार्किङ्गको उचित व्यवस्थापन, ठाउँ–ठाउँमा सार्वजनिक शौचालय, ल्याण्डफिल्ड साईटको व्यवस्थापन, गाडी ग्यारेजको व्यवस्थापन, सीमा क्षेत्रको सुरक्षा, टुरिष्ट व्वाइन्टहरुको विकास, छाडा पशुचौपायको नियन्त्रण, भुस्या कुकुरहरुको नियन्त्रण, भीम अस्पतालको सर्वाङ्गिण विकास, सम्पूर्ण सरकारी कार्यालयसँगको सहकार्य गरी केन्द्र सरकार, एडिबी, प्रदेश सरकारसंग पहल गरी अन्य प्रोजेक्टको लागि सरकारसंगको पहल, डण्डा करिडोर निर्माण, ध्यान केन्द्र र बुद्धको सबैभन्दा ठुलो मुर्ति निर्माण आदि हजारौँ योजनाहरु मेरो दिमागभरी घुमिरहेका छन् ।
यी सबै कामहरुलाई कार्यान्वयन गर्नको लागि प्रशासनिक निर्णय तथा समन्वय गर्नमा मेरो विगतको कार्य अनुभव भरपुर भएकाले मैले टिकट पाएमा सिद्धार्थनगरवासीले अत्याधिक मतले विजयी बनाउनुहुनेछ भन्ने पूर्ण विश्वस्त छु । सिद्धार्थनगरवासीको यसपटकको भोट विकास समृद्धलाई भन्ने मेरो नाराले यहाँहरुको मतको उचित कदर गर्नेमा म विश्वास दिलाउन चाहन्छु ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij