२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सर्तकता अपनाउँदै रोहिणीमा विद्यालय खुल्ला गर्न निर्देशन

शुक्रवार , कार्तिक २१, २०७७

भैरहवा, २१ कार्तिक। 
रुपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि गाउँपालिकाका सबै विद्यालय खुल्ला गर्न निर्देशन दिएको छ । रोहिणीको गाउँ शिक्षा समितिको कार्तिक २० गते बसेको बैठकले विद्यालयमा आवश्यक सर्तकता अपनाउँदै २३ गतेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । 

बैठकले कोभिड–१९ को कारण अहिले सम्म प्रभावित रहेको पठनपाठन कार्य अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेको जनाएको छ । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मद खाँले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भइरहेको अवस्थामा अब सावधानी अपनाउँदै बिद्यालय सञ्चालनको विकल्प नरहेको बताए । विद्यालयमा अभिभावकले आ–आफ्ना बालबालिकालाई अनिवार्य रुपमा माक्स लगाएर विद्यालय पठाउनुपर्ने खाँले बताए । माक्स नलगाई आएमा वा स्वास्थ्यमा समस्या देखिएमा त्यस्ता शिक्षक र बिद्यार्थीलाई बिद्यालयमा हातामा प्रवेश नदिइने उनले बताए । त्यस्तै विद्यालयमा पनि एउटै बेञ्चमा २ जना मात्र विद्यार्थी राखेर सामाजिक दुरी कायम गरी अध्ययन अध्यापन गराउनुपर्नेछ । विद्यार्थीहरुको चाप हेरी सिफ्ट बनाई कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । 

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले यसरी अध्यापन गराउँदा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई निर्देशिका २०७७ अनुसार नयाँ पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने जनाए । उनले पहिलो पटक गाउँपालिकाले विद्यालयमा सेनेटाइजरको व्यवस्था गर्ने र त्यसपछि विद्यालय आफैले सो को व्यवस्थापन गर्नुपर्ने बताए । 
रोहिणी गाउँपालिकामा १५ वटा सामुदायिक विद्यालय, ११ वटा संस्थागत बिद्यालय र १२ वटा धार्मिक मदरसाहरु सञ्चालनमा रहेको उनले जानकारी दिए ।