
मंगलवार , बैशाख ६, २०७९
भैरहवा, ६ वैशाख ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको छोरा प्रकाश चौहानलाई एक सामाजिक संस्थाले छात्रवृत्ति प्रदान गरेको छ । मायादेवी गाउँपालिका–४ स्थित लुम्बिनी शिक्षा निकेतनको कक्षा ६ मा अध्ययनरत प्रकाशको शैक्षिक शुल्कवापत नगद १८ हजार ७ सय ५० रुपैयाँ लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
रकम हस्तान्तरण गर्दै क्लबका अध्यक्ष तथा सनराइज बैंकका अधिकृत ऋचा केसीले प्रकाश चौहानको १० कक्षासम्मको विद्यालयमा लाग्ने खर्च क्लबले व्यहोर्ने बताइन् । योसँगै प्रकाशले कक्षा १० सम्म निःशुल्क रुपमा अध्ययन गर्न पाउने भएका छन् ।
हस्तान्तरण कार्यक्रममा क्लबको तर्फबाट क्लबका संस्थापक अध्यक्ष मेगा बैंकका क्षेत्रीय प्रबन्धक अमृत थापा, मुन्ना अग्रहरी र शिव खनालको उपस्थिति रहेको थियो ।
विद्यालयको तर्फबाट विद्यालय समितिका सदस्य शक्तिधर यादव र प्राचार्य शिलसागर यादवले लायन्स क्लब अफ प्रोफेसनल क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए । क्लबले यस अघि रुकुमका बालिकाहरुलाई उच्च शिक्षा पढ्न छात्रवृति प्रदान गरेको थियो । भैरहवामा रहेको यो क्लब बैंकर्सहरूले स्थापना गरेका हुन् ।
पत्रकार चौहानको २०७८ भदौ ३० गते ४५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनी बुटवल टुडे राष्ट्रिय दैनिक, बुद्ध सामूदायिक टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत थिए । उनले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्यको समेत जिम्मेवारी सम्हालेका थिए । स्व. पत्रकार चौहानका श्रीमती, ४ छोरा र ३ छोरी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij