
आइतवार , बैशाख ४, २०७९
बुटवल, ४ वैशाख ।
एनएमबी बैंक लिमिटेड लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)–२०२२ कार्यक्रम सप्पन्न गरेको छ । विश्व सम्पदा दिवस–२०२२ को अवसरमा एनएमबी बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।
करिब १५० जना कर्मचारीको सहभागीता रहेको कार्यक्रममा सहभागीले सांस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्ति नै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।
बुटवल ट्राफिकचोकस्थित एनएमबी बैंकको कार्यालयबाट सुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल (पुरानो बुटवल) हुँदै ऐतिहासिक किल्ला जितगढीमा गएर बिसर्जन भएको थियो ।
कार्यक्रममा बोल्दै एनएमबी बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नबिन बिष्टले एनएमबी बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्व एवं जानकारी गराउने उद्देश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले पदयात्रा कार्यक्रम गरेको जानकारी दिए । उनले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत संस्कृतिलाइ महत्व दिदै तिनाउ नदीको तटमा अवस्थित ऐतिहासिक जितगढी किल्लामा मौलिक बाजगाजाको साथमा पदयात्रा गरिएको बताए ।
कार्यक्रममा एनएमबी बैंकले जितगढी संरक्षण समितिलाई डस्टबीन, नेपालको राष्ट्रिय झण्डा, ऐतिहासिक दृंश्य झल्काउने फोटोफ्रेम (तस्वीरहरु) र मायाको चिनो हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, सञ्चालक प्रबन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागीता रहेको थियो ।
विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लण्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउण्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij