
बिहिवार , बैशाख १, २०७९
परासी, १ वैशाख ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । जिल्लाको रामग्राम नगरपालिकास्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटल आज नयाँ वर्षको दिन बिहीबार दिउँसो ४ बजेदेखि विधिवत रुपमा सञ्चालनमा ल्याइँदैछ । शान्तिका अग्रदुत गौतमबुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपसहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटल नरहेकाले उक्त आवश्यकतादेखि यो सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको होटेलका सञ्चालक मनोज कुमार गिरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
रामग्राम नगरपालिका–३ परासी बजारको सुनवल–परासी सडकमा ६ कट्टा क्षेत्रफलमा करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटल सिद्धार्थ पार्क रेजेन्सी सञ्चालनमा आउँदा परासीमा उत्साह थपिएको छ । यस चारतल्ले होटेल भवनमा सुपर डिलक्स, डिलक्स गरी २४ वटा एसी रुमहरु छन् भने । २ वटा हल, मल्टी कुजिन फाईनडाईन रेष्टुरेण्ट, लाउन्ज बार, कफी शप, रुफटफ गार्डेन रेष्टुरेण्ट समेतको व्यवस्था रहेको होटेल सञ्चालक गिरीले बताए । उनले पत्रकार सम्मेलनमा आज यस होटेलेका वृहद ओपेनिङ्ग गर्दै यस होटलमा थप सुविधाका लागि स्वीमिङ्ग पुल, बैन्क्वेट हल पनि निर्माण कार्य भइरहेको भन्दै विभिन्न टुरिजम प्याकेजमार्फत पर्यटक आकर्षित गर्ने योजना रहेको बताए ।
यो होटल परासी बजारकै सुविधायुक्त आकर्षित होटल रहेको छ । यो होटल थ्री स्टार स्टेन्डरमा सञ्चालन गरिएको छ । परासीकै आर्कषण रहेको यो होटेलमा यहाँका सरकारी तथा गैरसरकारी कार्यालय, संघ–संस्थाहरु र यहाँका उद्योगी व्यवसायी तथा राजनीतिक व्यक्तिहरुको सहयोग आवश्यक रहेको सञ्चालक रौनक अग्रवालले बताए । यो होटेलमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने सेवा तथा व्यवस्थापन पक्षमा ध्यान दिने सम्मेलनमा जानकारी दिदै यस होटेलको सञ्चालनले परासी बजारको आकर्षण बढने उनले विश्वास व्यक्त गरे ।
जिल्लाकै सदरमुकाम परासी बजारमा एक सुविधायुक्त व्यस्थित होटेल नहुँदा यहाँ आउने पाहुना र हुने विभिन्न सभा तथा कार्यक्रमहरु सुनवल, बर्दघाट, भुमहीका होटलबाट सेवा लिने गरिएको थियो तर आजदेखि सञ्चालनमा आएको होटलले उक्त बाध्यता र समस्या समाधान गर्ने सञ्चालकले विश्वास लिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, युवा नेता उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले यो होटल परासीको आवश्यकता रहेको भन्दै यसको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij