२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएकोमा उद्योगी व्यवसायी चिन्तित

आइतवार , चैत्र २७, २०७८

तिलोत्तमा, २७ चैत । 
राजनीतिक व्यवस्था नै धरापमा परेको बेला देशको सिंगो अर्थतन्त्र समेत दिन प्रतिदिन धरासायी बन्दै गएको भन्दै उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । ओरालो लागेको देशको मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् ।

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आइतबार संघ सचिवालयमा आयोजना गरेको २०७९ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले ओरालो लागेको देशको अर्थतन्त्र सुधारका लागि सरकार तथा दलका नेताहरुले कुनै चासो र चिन्ता व्यक्त नगरेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा संघका सल्लाहकार पशुपति घिमिरेले भएका उद्योग धन्दा राम्रोसंग सञ्चालन गर्न सक्ने वातावरण नरहेको बताए । सरकारले दिने अनुदानमा व्यापक दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले दिने अनुदान उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । उनले मुलुकलाई आत्मनिर्भर  बनाउन र आयात प्रतिस्थापन गर्न उत्पादन क्षेत्रमा सामूहिक लगानी गर्नुपर्ने आवश्यकता औल्याए ।

संघका सल्लाहकार चन्द्रमान श्रेष्ठले नेपाल सरकारले निर्यातमुलक उद्योग सञ्चालनका लागि स्थापना गरेको सेजमा उद्योगमैत्री वातावरण नभएका कारण उद्योग सञ्चालन गरिरहेका उद्योगीहरु कतिबेला उद्योग वन्द गरेर निस्किने भन्ने अवस्थामा रहेको बताए । कतिपय मानिसलाई पैसा भए जे पनि गर्न सकिन्छ भन्ने लागे पनि मुलुकको पछिल्लो अवस्थाले गर्दा पैसा भए पनि केही गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ । ‘हामी आयातमुखी छौं, आयातबाट भन्सार लगाएर आएको सामानवाट आम्दानी गर्ने अर्थतन्त्रको व्यवस्था भएकाले जति लगानी गरे पनि लगानी अनुसारको उत्पादन गर्न सकिने वातावरण छैन ।’ उनले भने–‘सरकारलाई पैसा बुझाउन जाँदा अनावशयक झण्झट व्यहोनुपर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुकको आर्थिक अवस्था सुधार हुँदैन ।’

सल्लाहकार नवराज श्रेष्ठले कोरोनाले लामो समयसम्म बन्द रहेका हरेक क्षेत्र राम्रो सँग तग्रिन नपाएको अवस्थामा बैंकिङ क्षेत्रले तरलताको अभावमा महिनौदेखि कर्जा प्रवाह गर्न नसक्दा लामो समय बन्द रहेको व्यापार व्यवसाय पुनः सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीहरुलाई पुँजी जुटाउन समस्या भइरहेको बताए । उनले खराब सरकारी नीतिका कारण मुलुकको व्यापार घाटा अझै बढ्ने अवस्थामा पुगेको र देसभित्र उत्पादित वस्तुको समेत निर्वाध रुपमा आयात हुन दिदा देश नै आयात गरेर निर्वाह गर्ने अवस्थामा पुगेको उल्लेख गरे ।

संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले एकोहोरो आयातले देशको व्यापार घाटा भयावह अवस्थामा पुगेकाले सरकारले तत्काल आयात नीतिमा परिवर्तन गर्दै आन्तरिक रुपमा उत्पादन हुन सक्ने वस्तु तथा सेवामा उच्च भन्सार दर कायम गरी देशभित्र उत्पादन बढाउन जोड दिनुपर्ने बताए । 

कार्यक्रममा संघका उपाध्यक्ष हरिलाल पाण्डे, कृष्णप्रसाद शर्मा, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पंगेनी लगायतले बोल्दै मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको र निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।