
मंगलवार , कार्तिक १८, २०७७
काठमाडौं, १८ कार्तिक ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद दिए ।
अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भयो ।
अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिए । त्यस्तै कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै यसविरुद्ध सहकार्यको आवश्यकता रहेको मन्त्री पौडेलले बताए ।
राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए । उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसंग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij