२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भुक्तानी दावी गरेका सबै बिमितलाई एक हप्ताभित्र भुक्तानी दिने निर्णय

मंगलवार , कार्तिक १८, २०७७

काठमाडौं, १८ कार्तिक ।
बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमांक रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दावी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । अर्थमन्त्री पौडेलले बिमितहरुले बीमांक रकम दावी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । 

त्यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ । 

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।