२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोनाबाट प्रभावित बालबालिकालाई रेडक्रसको आर्थिक सहयोग

आइतवार , कार्तिक १६, २०७७

भैरहवा, १६ कार्तिक ।
नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस संक्रमणबाट प्रभावित विपन्न परिवारका बालबालिकालाई आर्थिक सहयोग गरेको छ । युनिसेफसंगको साझेदारीमा रेडक्रसले रुपन्देहीका सम्मरीमाई गाउँपालिकामा बाबु गुमाएका ४ जना असहाय बालबालिकालाई आर्थिक सहयोग गरेको हो ।

रेडक्रस मर्चवार उपशाखाका सभापति निरञ्जन पाठकले प्रतिबालबालिका नगद ५ हजार उनीहरुका अभिभावकको रोहबरमा हस्तान्तरण गरेका थिए । उक्त सहयोगले बालबालिकाहरुको जीवनयापन र पठनपाठनमा सहयोग पुग्ने आशा गरिएको पाठकले बताए । टोलवस्ती पहिचान गरी वडा कार्यालयको सिफारिसमा उक्त बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको रेडक्रसले जनाएको छ । कार्यक्रममा रेडक्रसका पूर्व सिनियर अफिसर महेश गौतम, विनोद थापा, रवि राना लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै रेडक्रसले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, सिद्धार्थनगर नगरपालिका र मर्चवारी गाउँपालिकामा ७४ जना गर्भवती तथा विपन्न वर्ग पहिचान गरी स्वच्छता सेट वितरण गरेको रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले बताए । त्यसै गरी क्वारेन्टिन रहेका ६ वटा विद्यालयहरुमा शौचालय मर्मत, नाला निर्माण, विद्युतीय जडान, हातधुने स्टेशन तथा सरसफाई सामग्रीहरु समेत हस्तान्तरण गरिएको उदासले जानकारी दिए ।