
आइतवार , कार्तिक ९, २०७७
काठमाडौं, ९ कार्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।
सरकारले हालै मात्र विपन्न, असहाय, अपांगता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का कोअर्डिनेटर डा. गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट वञ्चित गरेको गुनासो आएको बताएका छन् ।
गरीब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यसविपरीत काम गरे अस्पतालहरु स्वयं जिम्मेवार हुने बताएका छन् ।उनले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij