
शनिवार , कार्तिक ८, २०७७
भैरहवा, ८ कार्तिक ।
संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडी बढ्न नसक्ने बताएका छन् । उनले उद्योगले खुट्टा टेक्न कृषिले खुट्टा टेक्नुपर्ने बताए । कृषिको समस्या समाधान गर्न नसकिए उद्योग टिक्न नसक्ने उनको भनाइ छ ।
उद्योग व्यापार संगठन रुपन्देहीको कार्यालय भवन शिलान्यास कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै मन्त्री भुसालले भने, ‘सर्वप्रथम कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्छ, आयात गरेर केवल विक्रीवितरण गर्ने विषय महत्वपूर्ण होइन, देखाउन गरिने कामले राम्रो गर्दैन् ।’ प्रदेश सरकारहरुले कृषि क्षेत्रमा राम्रो गरिरहेको उनले बताए ।
‘भनेजस्तै र सोचेजस्तै कृषि क्षेत्रमा काम गर्न सकेका छैनौं, तर अहिले जे गरिरहेका छौं, ठीक दिशामा छौं, मिहिनेतका साथ काम गर्यौं भने ३ वर्षमा राम्रो कृषि व्यवस्था बनाउँछौं, भुसालले भने ।’ कृषि क्षेत्रमा उठेका प्रश्नको उत्तर मन्त्रीको हिसाबले आफले दिने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका भुसालले स्थानीय सरकारहरुको प्राथमिकतामा सडक जस्तै कृषि क्षेत्र पर्न नसकेको बताए ।
‘सडक बनाउँदा काम भएको देखिएर भोट बढ्ने तर कृषि क्षेत्रको विकास तत्कालै नदेखिने भएकोले यसो हुन सक्छ, तर कृषिलाई प्राथमिकतामा राख्नुपर्छ, उनले भने ।’
मिडियामा पनि कृषिको विषय धेरै नसमेटिएको उनको भनाइ छ । ‘पार्टीका शिर्ष नेताहरुबीच आज भेटघाट भएन, हिजो भेटघाट भयो भन्ने विषय मिडियाको प्राथमिकतामा पर्छ, तर कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन, उनले भने ।’
कृषिमा आम्दानी नभए त्यो पेशामा टिक्न नसकिने भुसालले बताए । व्यक्तिगत रुपमा दिने अनुदानलाई हटाउनुपर्ने उनले बताए । बित्तीय पहुँच अझै पुर्याउन नसकिएको उनले बताए । अब सहकारीलाई किसानको धान किन्न लगाइने मन्त्री भुसालले बताए । ‘कृषि विग्रेको छ, मन्त्री नहुँदा पनि विगत २० वर्षदेखि कृषि विग्रेको कुरा मैले लेख्दै आएको छु, उनले भने ।’
‘५ महिनामा मल ल्याउने भनेर ठेक्का लिएर १३ महिनामा मल ल्याएर पनि पैसा बुझेको मैले देखेको छु, विगतमा सरकारले त्यसलाई नियन्त्रण गर्न सकेन उनले भने ।’
समयमै मल नल्याएर बदमासी गर्ने ठेकेदारको १० करोड जफत गरिएको उनले बताए । आगामी दिनमा पनि अनियमतिता गर्नेलाई कारवाही गरिने मन्त्री भुसालले बताए । संघीय सरकारले गर्ने केही सीमाहरु रहेको उनले बताए । श्रम र उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसके कृषि क्षेत्र अगाडी बढ्न नसक्ने उनको भनाइ छ ।
संगठित क्षेत्रमा संगठित भएर गरिने क्रियाकलापमा ध्यान दिन सकेनौं भने राम्रो शहर बनाउन नसकिने उनले बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले संगठनमा रुपन्देहीका ५ हजार उद्योगी व्यवसायी आबद्ध रहेको बताए । उनले संगठन नीजि क्षेत्रको सामाजिक संस्थाको रुपमा रहेको बताए । साढे दुई कठ्ठा जग्गा खरीद गरेर संगठनको भवन निर्माण सुरु गरिएको र पछि २ कठ्ठा जग्गा खरीद गरिने भण्डारीले बताए । उनले भवन निर्माणमा सहयोग गर्न आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व भुमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले संविधानलाई कार्यान्यवन गर्न नसकिए समस्या सिर्जना हुने बताए । उनले सकारात्मक सोचबाट सहयोग आवश्यक रहेको बताए ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ले रासायनिक मलको अभाव रहेको बताए । उनले कृषि क्षेत्रमा समस्या रहेको बताए । नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ इञ्चार्ज विश्वराज बराल (अनुप)ले जनतालाई श्रम र रोजगारीसंग जोड्नुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले संगठनले निर्माण गर्न लागेको भवन नगरपालिकाको गहना भएको बताए । संगठनका परामर्श समिति सदस्य तथा नेकपा रुपन्देहीका सचिवालय सदस्य हितराज पन्थीले उद्योग व्यापार संगठनले स्थायीत्व हासिल गरेको बताए ।
संगठनका सल्लाहकार तथा नेकपा सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यले १४ वर्ष भाडाको घरमा कार्यालय सञ्चालन गरेको संस्थाले आफ्नो भवनको शिलान्यास गरेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले नीजि क्षेत्रले सरकारलाई सहयोग गर्दै आएको बताए । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले उद्योग व्यापार संगठनको भवन निर्माणमा सहयोग गर्न तयार रहेको बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले भवन निर्माण समयमै सम्पन्न होस् भन्दै शुभकामना व्यक्त गरे ।
संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा सचिव टिकाराम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित उदयपुरमा खरीद गरिएको साढे दुई कठ्ठा जग्गामा करिब ३ करोडको लागतमा सुविधासम्पन्न तीनतल्ले भवन निर्माण गरिने संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij