२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

व्यापार संगठनले भन्यो–‘सरकारी जग्गा कब्जा गर्ने प्रयास गरेका छैनौं’

बुधवार , श्रावण ७, २०७७


भैरहवा, ७ साउन ।
उद्योग व्यापार संगठन रुपन्देहीले सरकारी जग्गा कब्जा गर्ने संगठनको कुनै प्रयास नरहेको स्पष्ट पारेको छ । जग्गा कब्जा गर्ने प्रयास नभई कानूनी वैधानिकताको लागि नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयको प्रतिक्षामा रहेको संगठनले जनाएको छ । 

संगठनले बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा कित्ता नम्बर २४०४ को २ कठ्ठा जग्गा अव्यवस्थित, दुर्गन्धित र पोखरीजस्तै गहिरो अवस्थामा रहेको र उक्त जग्गामा संस्थाले २०६६ सालमा माटो फिलिङ, तारबार गरि संगठन भवन निर्माणस्थलको साइनबोर्ड राख्दै आएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीे भने, “नेपाल सरकारको नाममा दर्ता कायम रहेको पुर्जा रहेकोले सरकारबाट लिजमा माग गरी त्यस बेलाको २२ राजनीतिक दलको निर्णय, सिद्धार्थनगर वडा नम्बर ३ को सर्जिमन रिपोर्ट, स्थानीयको सहमति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गा लिजमा लिने सहमतिको निर्णय थियो, जसमा मालपोत, नापी, वन कार्यालयका प्रमुखसहितको निर्णयलाई भुमिव्यवस्था मन्त्रालयमा ३० वर्ष लिजमा लिनको लागि फाइल अगाडी बढेको थियो ।

भण्डारीले हालसम्म संगठनले ३० लाख प्रक्रियागत र जमिनको विकासमा १० लाख खर्च गरिसकेको जानकारी दिदैं सि.न.पा.वडा नम्बर ३ बाट आफ्नै निर्णयलाई उल्टाउने काम भएको आरोप लगाए । आफुले गरेको निर्णयलाई नै उल्टाएर पार्क बनाउन १० लाख बजेट छुट्टाएर केही जनप्रतिनिधि र व्यक्तिहरुले उद्योग व्यापार संगठन र समुदायबीच झगडा गराउने षडयन्त्र गरेको समेत उनले आरोप लगाए ।

सि.न.पा.–३ का समुदायप्रति कुनै वैरभाव नरहेको भएकोले समुदाय र उद्योगी व्यवसायीबीच लडाउने काम नगर्न समेत उनले आग्रह गरे । 

“अवैध रुपमा बनाउने भए १० वर्ष अगाडी नै भवन बनाउने थियौं, वैध रुपमा नेपाल सरकारको निर्णय भए पश्चात मात्र पूर्ण सहयोग र समर्थनमा भवन निर्माण गरिने, निर्माण पश्चात त्यहाँका गाउँ समाजलाई सभाहल, बैठक कक्ष आदि निःशुल्क उपभोग गर्न दिइने तथा संगठनको कार्यालय बनेमा विभिन्न कार्यक्रम भइरहने भएको हुँदा त्यहाँको व्यापारिक चहलपहल समेत बढ्ने र विकसित हुने जानकारी गराउँछौं, भण्डारीले भने ।

सामाजिक संस्थाको रुपमा रहेको उद्योग व्यापार संगठनमा वडा नम्बर ३ मै २५ प्रतिशत सदस्य र कार्यसमिति रहेको र वडा नम्बर ३ कै वासी भोलिका दिनमा संगठनको नेतृत्व लिन सक्ने भएकोले कसैको भ्रममा नपर्न उनले आग्रह गरे ।

संगठनमा हाल रुपन्देही जिल्लाका ५ हजार उद्योगी, व्यवसायी आबद्ध रहेको महासचिव अनिल कुमार ज्ञवालीले बताए । यस क्षेत्रको विकास निर्माणका मुद्दाहरु उठाउने र सिद्धार्थनगरको राजस्व परामर्श समितिमा रहेर नगरलाई आर्थिक उपार्जन समेत संगठनले सहयोग पु¥याउँदै आएको ज्ञवालीले बताए ।

संगठनका सह–कोषाध्यक्ष राममिलन यादवले जग्गाको विषयमा प्रक्रियागत ढंगले नै संगठन अगाडी बढेको बताए । त्यस्तै संगठनका सचिवालय सदस्य कृष्ण बहादुर गुरुङले सि.न.पा.–३ मा रहेको बाल उद्यानको संरक्षणमा ध्यान नजानु र अर्को पार्क बनाउने भनेर बजेट छुट्टयाउने कार्यले नै विवाद सिर्जना गराउने प्रयास भएको बताए ।

कम्तीमा पनि राती ८ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने संगठनको माग रहेको जनाएको छ ।