
बुधवार , फाल्गुण १८, २०७८
भैरहवा, १८ फागुन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने बताएका छन् । उद्योग व्यापार संगठन रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपी थापाले यसअघिका प्रहरी प्रमुखको राम्रो कामलाई पछ्याउने बताए । उनले होटल रेष्टुरेण्ट कति बजेसम्म सञ्चालन गर्ने भन्नेबारेमा छलफलमार्फत अगाडि बढ्ने बताए । उनले भने, ‘सुरक्षाको लागि व्यवसायीको पनि योगदान आवश्यक हुन्छ, जस्तै लाईट, सीसीटिभी क्यामेरा लगायतका कुराको व्यवस्थापन ।’ प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।
विदेशमा पनि अपराध बढ्दो भए पनि त्यहाँ प्रविधिका कारण अपराध गर्ने व्यक्ति छिटो कानूनी दायरामा आउने गरेको उनले बताए । प्रविधिसँगै अगाडी बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले करिब ५ हजार उद्योगी व्यवसायी आबद्ध संगठनले निजी क्षेत्रको व्यवसायिक हकहितका लागि आवाज उठाउँदै आएको बताए । उनले संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । रुपन्देही विकासको दृष्टिकोणले अत्यन्तै तीव्र गतिमा अगाडी बढेको उनको भनाइ थियो ।
संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले जिल्लामा लागूऔषधको कारोबार विगतका वर्ष भन्दा क्रमशः न्यूनीकरण हुँदै गएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र उद्योग व्यापार संगठनबीच अझ सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले एसपी रेग्मीको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । उनले संगठनले जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन क्षेत्रमा चुनौती रहेको बताए । उनले सम्पूर्ण संघ–संस्थासँग संगठन हातेमालो गर्दै अगाडी बढ्ने बताए ।
संगठनका सल्लाहकार उषाकिरण गुरुङले संस्थालाई अगाडी बढाउन सहकार्य गर्दै जाने बताइन् । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले रुपन्देहीमा सम्भावनासंगै चुनौती पनि रहेको बताए । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई पनि सम्मानजनक रुपमा हेर्नुपर्नेमा जोड दिए ।
उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत, उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij