२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

‘निर्यात गर्ने उद्योगलाई सरकारले सहयोग गर्नुपर्छ’

मंगलवार , फाल्गुण १७, २०७८

भैरहवा, १७ फागुन ।
निर्यात गर्ने उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले निर्यात गर्ने उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा निर्यातको सम्भावना, समस्या र निर्यात प्रवद्र्धनका लागि पराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले वस्तु उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना हुँदाहुँदै समस्या रहेको बताए ।

पराष्ट्र मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयोजनमा सोमबार भैरहवामा भएको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अन्तर कार्यालय समन्वयको आवश्यकता रहेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकलाई सहज रुपमा नेपाल भित्र्याउनुपर्नेमा जोड दिए । अध्यक्ष शर्माले भने, ‘पर्यटन व्यवसायको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, तसर्थ यसमा राज्यको ध्यान जानुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य राजेश अग्रवालले सिमेन्ट निर्यातका लागि सरकारले अनुदान दिनुपर्ने बताए । उनले भने, ‘कुन कुन उद्योगमा निर्यातको सम्भावना छ, त्यसको पहिचान गर्न आवश्यक छ । ’

पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले निर्यात गर्दा उद्योग नाफामा छ भन्ने सोच रहे पनि त्यसो हुन नसकेको बताए । उनले विशेष आर्थिक क्षेत्र (सेज) सफल नदेखिएको बताए । उनले भने, ‘उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति व्यवहारमा भएको पाइएन । ’

नेपाल रोडा ढुंगा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवालीले ढुंगागिट्टीलाई परिचालन गर्न सक्नुपर्ने बताए । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले नीतिहरु परिमार्जन गर्न सकिए धेरै काम गर्न सकिने बताए ।

उद्योगी विकास गोयनकाले नेपाल मैदामा आत्मनिर्भर भए पनि मैदा आयात भइरहेको बताए । उद्योगी ऋषिकेश अग्रवालले नीतिनियमलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले सीमा क्षेत्रमा लामो समयसम्म मालबाहक सवारीसाधन जाममा बस्नुपर्दा समस्या भएको बताए ।

कार्यक्रममा नेपाल घरेलु उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, सिद्धार्थ होटल एशोसिएशन (सान) का उपाध्यक्ष किशोर जोशी, मनोज कुमार रिजाल लगायतले सरकारले औद्योगिक विकासको वातावरण निर्माण गर्नुपर्ने बताए ।

पराष्ट्र मन्त्रालयका सह–सचिव भरत कुमार रेग्मीले निर्यात जत्तिकै आयात पनि महत्वपूर्ण रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा लुम्बिनी प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘लुम्बिनी भनिएन भने पर्यटन प्रबद्र्धन अपुरो हुन्छ ।’

IMG_3126.JPG

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले लगानीको वातावरण बनाउने, उत्पादन बढाउने र गरीबी न्यूनीकरणमा लाग्नुपर्ने बताए । उनले प्रदेश सरकारले लक्ष्य र गन्तव्य स्पष्ट पारेको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लुम्बिनी प्रदेशका सचिव हेमराज सुवेदीले विकासको प्रक्रिया अगाडी बढ्दै जाँदा स्रोतको आवश्यकता पर्ने बताए । उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडी बढ्ने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले निजी क्षेत्रसंगको सहकार्यलाई कसरी अगाडी बढाउने भन्नेमा सरकार केन्द्रीत भएको बताए । उनले उत्पादनको प्रतिष्पर्धात्मक क्षमतामा जोड दिनुपर्ने बताए ।