२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

रुपन्देही सुनचाँदी व्यवसायी संघद्वारा नगद तथा खाद्यान्न सहयोग 

शनिवार , फाल्गुण १४, २०७८

बुटवल,  १४  फागुन ।
रुपन्देही सुनचाँदी व्यवसायी संघले खाद्यान्नसहित नगद सहयोग गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको नेपाल अपांग आश्रममा २५ हजार बराबरको खाद्यान्नसहित १३ हजार नगद सहयोग गरेको हो ।

आश्रममा आयोजित कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघ अध्यक्ष, रामकिसन बिश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य एम.बी. विश्वकर्मा, कार्यक्रम संयोजक रेवन्त विश्वकर्मा, महासचिव सीताराम रसाइली लगायतले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई उक्त खाद्यान्नसहित नगद हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य एम.बी. विश्वकर्माले सामाजिक उत्तरदायित्व बहन गर्दै अपांगता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेकामा धन्यवाद व्यक्त गरे । संघले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गरिएको बताउँदै निरन्तर यस्तो कार्य गर्नुपर्नेमा जोड दिए । वर्षको एक दिन आफ्ना आफन्तको स्मृति वा शुभ कार्यमा अन्यत्र गरिने फजुल खर्चको साटो आश्रममा सहयोग गर्न उनले अनुरोध गरे ।

‘हामीले हजारौं रुपैयाँ अनावश्यक चिजहरुमा खर्च गरिरहेका हुन्छौं तर आश्रममा त्यही खर्च गर्दा यहाँ आश्रित सबैलाई राहत पुग्छ’ विश्वकर्माले  भने –‘जन्मदिन र विवाह वर्षगाँठ जस्तै वार्षिक पुण्यतिथि मनाउनेहरुलाई पनि यहाँ आएर सहयोग गर्ने गरेमा त्यो नै असल समाज सेवा हुन्छ  ।’

विपन्न तथा अपांगता भएकाहरुलाई केही राहत पुगोस भरेर थोरै भए पनि  दैनिक उपभोग्य सामग्री दाल, चामल, पिठो, सर्फ, प्याज, लसुन, नुन, चिनी साबुन लगायतका सामग्री हस्तान्तरण गरिएकोसंघका अध्यक्ष रामकिसन विश्वकर्माले बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

खाद्यान्न तथा नगद ग्रहण गर्दै आश्रमका अध्यक्ष डोल बहादुर रामदामले आश्रममा परिवारबिहीन विपन्न व्यक्तिहरुले आश्रय लिइरहेको बताए । त्यस्तै सहयोगी हातहरुबाट उनीहरुको दैनिक गुजारा चलाइरहेको र अर्थोपार्जनको खोजी गरिएको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे । उनले आर्थिक अभावले बेलाबेला समस्या भोगे पनि आफ्नो संरक्षणमा राखेका बालबालिकालाई आफू अनुकूलका सिप सिकाउने, पढाउने  र अपांगताविरुद्ध उपचारका लागि अस्पताल पठाउने व्यवस्था आश्रमले गरेको बताए ।

कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष गोपाल रामदाम, कोषाध्यक्ष मनोज सेञ्चुरी, सह–कोषाध्यक्ष संजय सेञ्चुरी, तिलोत्तमा सुनचाँदी व्यवसायी संघ अध्यक्ष कृष्ण बहादुर रसाइली, प्रेस सल्लाहकार फूलु सुनार, सदस्य मात्रिका गहतराज, राजु वि.क., मन्जु श्री वि.क., कार्यालय सचिव मुना सिंह लगायतको सहभागिता रहेको थियो ।

संघका उपाध्यक्ष किशोर कुमार सुनारको धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक रेवन्त विश्वकर्माको स्वागत मन्तव्य तथा महासचिव सिताराम रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तीन जना अपांगता भएका व्यक्तिद्वारा २०६७ सालमा अभिभावकविहीन अपांगता भएका बालबालिकाको संरक्षणका लागि खोलिएको नेपाल अपांग आश्रममा हाल ३२ जना आश्रित छन् ।