२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कालिका स्वावलम्बनद्वारा झण्डै १० हजार बालबालिकालाई पोषणयुक्त खाद्यसामाग्री वितरण 

बिहिवार , कार्तिक ६, २०७७

जीवन न्यौपाने 
नवलपरासी, ६ कार्तिक  ।
कपिलवस्तु जिल्लामा कार्यालय रहेको गैरसरकारी संस्था कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा लुम्बिनी प्रदेश अन्तर्गतका ६ पालिकाका झण्डै १० हजार बालबालिकालाई कोभिड राहत पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको छ । 

६ देखि २३ महिनासम्मका  बालबालिकालाई लक्षित गरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा १ हजार २ सय बालबालिका, प्रतापपुर गाउँपालिकामा १५ सय २८ बालबालिका, पाल्हिनन्दन गाउँपालिकामा १४ सय १६ बालबालिका र सुनवल नगरपालिकामा २ हजार बालबालिका, त्यस्तै कपिलवस्तु जिल्लाको बिवजयनगर गाउँपालिकामा १ हजार ५ सय बालबालिकाका लागि कालिका स्वावलम्बनले कोभिड राहत पोषणयुक्त खाद्यसामाग्री र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । 

बर्दियाको मधुबन गाउँपालिकाका १ हजार ८ सय ३५ जना बालबालिकालाई भने सो राहत सामाग्री वितरण गर्न बाँकी नै छ । कालिकाले प्रतिबच्चा ३ प्याकेज सर्वोत्तम लिटो, चारवटा साबुन र ५ पिस माक्स वितरण गरेको हो । 

विशेष गरी कुपोषण बढी मात्रामा रहेका तथा भारतीय सिमा नजिक रहेका पालिका र केही सुगम जिल्लाका बालबालिकालाई लक्षित गरी आफुहरुले राहत सामाग्री वितरण गरेको संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले बताए । उनले भने “विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ ले बालबालिकालाई पोषणयुक्त आहार खान पाउने अधिकार समेत प्रभावित बन्दा पनि सो क्षेत्र ओझेलमा परेकोले संस्थाबाट अभियानकै रुपमा सबै क्षेत्रमा सुसूचित गर्ने अभिप्रायले बालबालिकालाई पोषणयुक्त खाद्यसामाग्री र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो । 

लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुमा आधारभूत स्वास्थ्य परियोजना कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको कालिका स्वावलम्बन सामाजिक केन्द्र बालअधिकारका क्षेत्रमा काम गर्ने गैर नाफामुलक संस्था हो । 

कोभिड राहत वितरण कार्यक्रमलाई बलियो नेपाल न्यूट्रीशन इनिसिएटिभले आर्थिक सहयोग गरेको छ भने राहत सामाग्री वितरण गरिने ठाउँका सम्बन्धित पालिकाहरुले समन्वय तथा सहकार्य गरिरहेका छन् ।