
बुधवार , कार्तिक ५, २०७७
काठमाडौं, ५ कार्तिक ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि झन्डै ७ प्रतिशत भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अुनसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.९१ प्रतिशत भएपनि गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने तुलनात्मक रूपमा कम २.६८ प्रतिशत भएको छ।
चालु आवको पहिलो दुई महिनाको अवधिमा समग्र मूल्यवृद्धि ४.५२ प्रतिशत छ। गत वर्षको यही अवधिमा उपभोक्ता मूल्यवृद्धि ६.१६ प्रतिशत थियो। खाद्यान्नमा उच्च मूल्यवृद्धि भएपनि गैरखाद्य तथा अन्य समूहको मूल्य वृद्धि कम हुँदा समग्र मूल्यवृद्धि कम देखिएको हो।
२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवंम् दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च रहेको छ। गत साउनको तुलनामा मूल्यवृद्धि बढेको देखिएको छ। अहिलेको मूल्यवृद्धि अन्य कारणले भन्दा पनि कालोबजारीका कारणले बढेको हो। कालोबजारीले आपूर्ति शृङ्खलामा अवरोध पुर्याएर मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।
मानिसहरुको क्रय शक्ति कम हुँदा पनि बजारमा मूल्यवृद्धि चरम छ। अन्य सेवा क्षेत्र ठप्प हुँदा यस तर्फको मूल्यवृद्धि न्यून छ। यसैले गर्दा समग्र मूल्यवृद्धिमा कमी देखिएको हो।
२०७७ भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत थियो। (नेपाल लाइभ)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij