२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बुटवल उवासंघ स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान

मंगलवार , फाल्गुण १०, २०७८

बुटवल, १० फागुन । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको स्थापना दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार संघको सचिवालय परिसर बुटवलमा रक्तदान गरिएको हो ।

बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले व्यवसायिक विकास, उनीहरुको हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संघका पदाधिकारी सदस्य, शुभेच्छुकहरुले रक्तदान गरेको संघका कार्यसमिति सदस्य तथा स्थापना दिवस विशेष कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा आएर रक्तदान गर्नेहरुलाई संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले धन्यवाद व्यक्त गरेका छन् । त्यसै अवसरमा संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु लायन्स प्रथम भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आइतबारदेखि नै सचिवालयमा दीपावली गरेको संघले आज (मंगलबार) विशेष कार्यक्रम गर्दैछ ।

संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार आइतबार, सोमबार र मंगलबार तीन दिन संघ सचिवालयमा दीपावली गरिने छ । लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीको आतिथ्यतामा हुने कार्यक्रममा पूर्वअध्यक्षहरुबाट जीवनप्रसाद वझालाई सम्मान गरिने संघले जनाएको छ । स्थापना दिवसको अवसरमा संघले प्रत्येक वर्ष पूर्वअध्यक्षबाट १ जनालाई सम्मान गर्दै आएको छ । बुटवलका उद्योगी व्यवसायी वझा २०५३–२०५५ सम्म संघको अध्यक्ष भएका थिए ।

स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिने छ भने बुटवल बालमन्दिरमा अध्ययन गर्ने वालबालिकालाई शैक्षिक तथा खेलकुदका सामग्री र दिवा खाजा (खाद्यान्न) प्रदान गर्ने कार्यक्रम तय गरिएको महासचिव बिमलराज भट्टराईले बताए ।