बुधवार , फाल्गुण ४, २०७८
रुपन्देही, ४ फागुन ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्त रुपमा उद्घाटन गरेका छन् । कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा आएको सेवा कार्यालयबाट ब्लुबुक नविकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट ईजाजत लगायतको सेवा दिइने छ ।
सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री यादवले कार्यालयको लागि आवश्यक पर्ने जग्गा, भौतिक पुर्वाधार निर्माण, जनशक्ति र वजेट व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री ढेंगामगरले संघीयताको मर्म अनुसार सरकारी सेवालाई विकेन्द्रीत गरी नागरिकको घर दैलोमा पुर्याउने उद्देश्यले मन्त्रालयले सेवा कार्यालय विस्तार गरेको बताइन् । यसअघि नवलपरासीको रामग्राम नगरपालिका–४ मा पनि सेवा कार्यालय सञ्चालनमा आइसकेको र अब छिट्टै पाल्पामा सेवा विस्तार गरिने जानकारी दिंदै मन्त्री ढेंगाले अब बुटवल र भैरहवा धाउनुपर्ने बाध्यता अन्त्य भएको बताइन् ।
कार्यक्रममा पुर्वमन्त्री दानबहादुर चौधरी, प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री धर्मबहादुर लाल श्रीवास्तव, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपकराज नेपाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायतले आगामी दिनमा सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरण समेतको सेवा दिने गरी योजना बनाउन सुझाव दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij