२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

लखन थापालाई राष्ट्रिय विभूूति घोषणा गर्न माग

सोमवार , फाल्गुण २, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २ फागुन ।
    नेपालको प्रथम सहिद लखन थापा मगरको १४५ औं स्मृति दिवस भैरहवामा मनाइएको छ । नेपाल मगर संघ सिद्धार्थनगर नगर कमिटीको आयोजनामा सिद्धार्थनगर वडा नम्बर ९ स्थित जयलाल भवनमा एक समारोहकाबीच मनाएको हो । 

    कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेश अध्यक्ष उमेश थापा लाटोमगरले सहिदको कुनै जात, धर्म, वर्ग नहुने र सहिद सबै नेपालीको साझा भएको बताए । उनले नेपालकै प्रथम सहिद लखन थापा मगरलाई वि.सं. २०७२ साल असोज ३ गते आएर नेपाल सरकारले प्रथम सहिद घोषणा गरे तापनि राज्यले उचित सम्मान गर्न नसकेको गुनासो पोखे । उनले प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरी उहाँको बलिदानलाई पाठ्यसामग्रीमा समावेश गर्नुपर्ने जोड दिए ।

    कार्यक्रममा संघका उपाध्यक्ष चन्द्र बहादुर पुनले लखन थापाको जीवनीबारे प्रकाश पारेका थिए । कार्यक्रममा संघका अध्यक्ष चन्द्रबहादुर रानाले प्रथम सहिद लखन थापा मगरको तस्वीरमा फूल पुष्पा र खादा माल्यापर्ण गरी उद्घाटन गरेका थिए ।

    कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष प्रेम बहादुर सलामी मगर, नेपाल मगर महिला संघ सिद्धार्थनगरका अध्यक्ष दिना पुन मगर, सल्लाहकार टेक बहादुर राना मगर, इकाई समितिका अध्यक्ष ढक बहादुर सारु मगर, इन्द्र माया गिदेल मगर र पदमा राना मगरले प्रथम सहिद लखन थापा मगरबारे बोलेका थिए ।

    चन्द्र बहादुर राना मगरको अध्यक्षता एवं सचिव राम बहादुर सारु मगरको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै सोमबार साझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्वलन समेत गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रको प्रथम सहिदलाई मगर समुदायले मात्र स्मृति दिवस मान्नु परेको पीडा व्यक्त गरेका थिएँ। कार्यक्रममा सिद्धार्थनगर–१२ का वडा सदस्य सरोज ठकुरी, ३ का वडा सदस्य रुपमाया पुन लगायतको उपस्थिति रहेको थियो ।