जनतालाई पायक पर्ने ठाउँबाट सेवा प्रवाह गर्नु नै संघीयताको मर्म : मन्त्री ढेंगा
आइतवार , फाल्गुण १, २०७८
बुटवल, १ फागुन ।
लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगा मगरले जनतालाई पायक पर्ने ठाउँबाट सहज रुपमा सेवा प्रवाह गर्नु नै संघीयताको मर्म भएको बताएकी छन् । आइतबार नवलपरासी पश्चिम सदरमुकाम रामग्राममा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्दै मन्त्री ढेंगा मगरले जनतालाई पायक पर्ने ठाउँबाट सहज रुपमा सेवा प्रवाह गर्नु नै संघीयताको मर्म भएको भन्दै सोही अनुसार प्रदेश सरकारले नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको बताइन् ।
लुम्बिनी प्रदेशमा गठबन्धन सरकार बनेदेखि प्रदेशवासी जनतालाई संघीयताको अनुभुति हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा राखेर सोही अनुसार कार्यक्रम अगाडी बढाएको बताइन् । मन्त्री ढेंगा मगरले जग्गा व्यवस्थापन भए निकट भविष्यमै नवलपरासी पश्चिम जिल्लामा लाइसेन्सको ट्रायल लिनेदेखि यातायातसँग सम्बन्धी सबै सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।
जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने उदेश्यले मन्त्रालयले यही फागुन ४ गते कपिलबस्तुमा समेत यातायातको सेवा कार्यालय स्थापना गर्न लागेको जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा सेवा कार्यालय विस्तारलाई तीव्रता दिने बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले आफूले सधै प्रदेशसभामा उठाउँदै आएको एउटा माग आज पुरा भएको बताए । उनले सेवा कार्यालयलाई जतिसक्दो छिटो ट्रायल सेन्टरसहितको यातायातसँग सम्बन्धित सबै सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
वर्षाका कारण नवलपरासी पश्चिमका कृषकको धानबालीमा ठुलो क्षति भए पनि हालसम्म कृषकले राहत नपाएको भन्दै उनले किसानलाई तत्काल राहत उपलब्ध गराउन र नागरिकतासम्बन्धि समस्या समाधान गर्न माग गरे ।
श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव दीपकराज नेपालको अध्यक्षता र मन्त्री ढेगा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामबचन यादव, पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादव, संविधानसभा सदस्य चिनक कुर्मी, नेकपा एमाले नवलपरासीका नेता राजन आचार्य, नेपाली कांग्रेसका नेता बिक्रम यादव, नेकपा (माओवादी केन्द्र) का नेता बुद्धवन अली, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्याय, रामग्राम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राम मण्डल यादव, रामनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मदन यादव, पत्रकार बेचु गौड लगायतले जिल्लामा यातायातको सेवा कार्यालय स्थापना हुनु सुखद रहेको भन्दै आगामी दिनमा थप सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij