आइतवार , फाल्गुण १, २०७८
बुटवल, १ फागुन ।
बुटवलमा प्रधान कार्यालय रहेको लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं २०७० सालमा छरिएर रहेका साना तथा मझौला ढुवानी व्यवसायीहरु संगठित भइ स्थापना भएको संघको साधारणसभामा बोल्ने वक्ताहरुले यातायात व्यवसायीहरुको समस्याप्रति सरकार गम्भिर नरहेको आरोप लगाएका छन् ।
साना तथा मझौला सवारी दर्ता, नविकरण र सञ्चालन गर्दा आईपर्ने विभिन्न समस्याहरुका बारेमा पटकपटक सरकारी पक्षको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाई नभएको गुनासो गर्दै साना तथा मझौला ढुवानी व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सबै प्रकारका यातायात व्यवसायीहरु धरासायीको संघारमा पुगेको बताए ।
विगत केही वर्षयता सरकारको गलत नीतिका कारण ओरालो लागेको यातायात व्यवसाय क्षेत्र दुई वर्षदेखि कोरोना महामारीको चपेटामा परेको उल्लेख गर्दै पोखरेलले राष्ट्रको आर्थिक बिकासमा मेरुदण्डका रुपमा रहेको यातायात व्यवसायलाई संरक्षण गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले यातायात व्यवसायीलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
लुम्बिनी साना तथा मझौला ढुवानी व्यबसायी संघका निवर्तमान अध्यक्ष लक्ष्मण क्षेत्रीले साना स्वरोजगार व्यवसायीहरुलाई व्यवस्थित पार्किङ्गस्थल, रुट परमिट लगायतका समस्याहरु रहेको उल्लेख गर्दै समस्या समाधानका लागि निरन्तर आवश्यक पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा रुपन्देही ढुवानी ब्यबसायी संघका अध्यक्ष श्यामराज हमाल, सिद्धार्थ इन्स्योरेन्सका राजु उप्रेती, लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका सल्लाहकार मोहन पिएस लगायतले ढुवानी व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।
संघका अध्यक्ष दिनेश थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साना तथा मझौला ढुवानी व्यवसायी तथा स्वरोजगार मजदुरहरुको हकहित संरक्षण र विकासका लागि प्रतिबद्ध रहेको बताए ।
संघका उपाध्यक्ष सुमन सापकोटाको सञ्चालन तथा कार्यवाहक महासचिव रविन्द्रकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएकोे कार्यक्रममा कोषध्यक्ष नविन पोख्रेल र लेखा समितिका संयोजक गोपाल पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij