
बिहिवार , माघ २७, २०७८
बुटवल, २७ माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सात दिवसीय विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएको छ । ६३ औं स्थापना दिवस समारोहको शुभारम्भ ६३ युनिट रक्तदान गरेर शुभारम्भ गरिएको छ ।
उपनगरप्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम शुभारम्भ गरे । कर्मचारी एसोसिएसन इकाई समिति बुटवलको आयोजनामा भएको रक्तदान कार्यक्रमको संयोजन एसोसिएसनका अध्यक्ष अनिल कुमार माण्डव्यले गरेका थिए ।
जनप्रतिनिधि, कर्मचारी, समाजसेवी र विभिन्न व्यक्तिले रक्तदान गरेका थिए । रक्तदाता र अतिथिहरूलाई महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले धन्यवाद ज्ञापन गरेका थिए ।
स्थापना दिवसको मूल समारोह भने आगामी फागुन ३ गते हुनेछ । त्यस अवधिसम्म जनप्रतिनिधि–कर्मचारीका बीचमा मैत्रीपूर्ण खेलकुद, सरसफाई र विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने एसोसिएसन अध्यक्ष माण्डव्यले जानकारी दिए । बुटवल नगरपालिका २०१६ साल फागुन ३ गते स्थापना भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij