२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

हट्यो जोरबिजोर

सोमवार , माघ २४, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares

  • काठमाडौँ। काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबारबाट निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । 

    उपत्यकाका तीन जिल्लाको बैठकले जोरबिजोर प्रणाली हटाएको हो । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाए पनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने सोमबारबाट हटाइएको हो ।

    यस्तै, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने, १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

    यसैगरी, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।

    सबै नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नसमेत प्रशासनले आग्रह गरेको छ । पार्टी प्यालेसको हकमा भने पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइनेछ । बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाटबजारलगायत भीडभाड हुने कार्य गर्न नपाउने निर्णय भएको छ ।